बाणगंगामा सिनर्जी बहुउद्देश्यीय ‘सहकारी बजार तथा कोसेली घर’ सञ्चालन

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको बाणगंगा नगरपालिका– ४, जितपुरमा स्थापित सहकारी बजार तथा कोसेली घर बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । स्थानीय उत्पादनलाई सुरक्षित, सरल र उचित मूल्यमा उपभोक्तासामु पुर्याउने उद्देश्यसहित सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको यो केन्द्र ग्रामीण बजार व्यवस्थापनको महत्त्वपूर्ण आधारका रूपमा देखिन थालेको बताइएको छ ।

सहकारी बजार तथा काेसेली घर लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले संयुक्त रूपमा उद्घाटन  गरी सञ्चालनमा ल्याइएको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले सहकारी बजारले स्थानीय किसान, घरेलु तथा साना उद्यमीहरूको उत्पादनलाई प्राथमिकतामा राख्दै प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘प्रदेश सरकारले जैविक मल कार्यक्रममार्फत सहकारीलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ । अब किसानले विषादीरहित, सुरक्षित तथा जैविक उत्पादनतर्फ उन्मुख हुनुपर्छ,’ पन्थीले भने, ‘कोसेली घरजस्तो संरचनाले किसानदेखि साना उद्योगसम्मलाई बजारसँग जोड्ने प्रभावकारी भूमिका खेल्ने पन्थीको भनाइ छ । 

मेयर चक्रपाणि अर्यालले बाणगंगा नगरपालिकाले स्थानीय उत्पादन र उद्यमशीलता विस्तारका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गरेका छन् ।  ‘किसान र साना उद्यमीहरूको मागअनुसार थप कार्यक्रम ल्याउने योजनामा  नगरपालिका लागिपरेको बताउँदै  सहकारी बजार र कोसेली घरमार्फत महिला समूह र स्थानीय उत्पादनकर्ताले तयार पारेका वस्तु सहज रूपमा बजारमा पुर्याउन सहयोग हुनेछ,’ मेयर अर्यालले बताए।

सिनर्जी बहुउद्देश्यीय सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले सहकारी बजार स्थानीय उत्पादनको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि  प्रभावकारी माध्यम बन्ने बताएका छन् । ‘तरकारी, फलफूल, अन्न, मह, घरेलु उत्पादन, हस्तकलालगायतका सामग्रीलाई किसान र महिला समूहबाट संकलन गरी सिधै बजारमा पुर्याइनेछ,’ उनले भने, ‘सहकारी सदस्यहरूलाई सामान किन्दा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ ।’

सुझावित समाचार