धनगढीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका जेन–जी युवामाथि एमाले भ्रातृ संगठन युवा संघका कार्यकर्ताले बुधबार आक्रमण गरेका छन् । एमाले नेता महेश बस्नेतलाई मोटरसाइकलमा स्कर्टिङ गरिरहेका युवा संघका कार्यकर्ताले प्रहरीकै अगाडि जेन–जी युवामाथि कुटपिट गरेका हुन् ।
कुटाइबाट जेन–जी अगुवा सरिता जोशीको हातमा र हेलमेट प्रहार गर्दा अर्का युवा गोपाल बोहराको गर्धनपछाडि चोट लागेको छ । बायाँ हातको जोर्नी ‘क्र्याक’ भएपछि उनी धनगढीको निसर्ग अस्पताल भर्ना भएकी छिन् । घटनापछि बेलुकी पनि युवा संघका केही कार्यकर्ता जेन–जी युवाहरूलाई खोज्दै जोशीलाई भर्ना गरिएको निसर्ग अस्पताल पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई भित्र प्रवेश गर्न दिएन ।
शान्तिपूर्ण प्रदर्शन गरिरहेका वेला आफूहरूमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जेन–जी युवा गोपाल बोहराले बताए । ‘हामीले कसैमाथि ढुंगा हानेका थिएनौँ र कसैको पुत्ला जलाएका थिएनौँ । उभिएर प्रदर्शन मात्र गरिरहेका थियौँ,’ उनले भने, ‘महेश बस्नेतलाई ल्याएर मोटरसाइकलमा आएका एमाले कार्यकर्ताले प्रहरीकै अगाडि हामीमाथि आक्रमण गरे ।’ आफूहरूमाथि कुटपिट हुँदा पनि त्यहाँ ठुलो संख्यामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी मूकदर्शक बनेको उनको आरोप छ ।
युवा संघका कार्यकर्ताले हमला गरेपछि प्रदर्शनकारी युवाहरूको भागाभाग भएको थियो । ‘जे पायो त्यही बोलेर अराजकता फैलाउने, यत्रो बलिदानी भएको जेन–जी आन्दोलनको अपमान गर्ने, मारिदिन्छु, काटिदिन्छु भन्ने अराजकहरू आउन नपाऊन् भनेर प्रदर्शन गरेका हौँ,’ जेन–जी युवा विष्णु खड्काले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण थियो । ठुलो संख्यामा रहेका प्रहरीले सडकपट्टि हामीलाई घेरा हालेर राखेका थिए । प्रहरीकै घेरा तोडेर आक्रमण हुँदा उनीहरूले केही गरेनन् ।’ मोटरसाइकलमा युवा संघको झन्डा बोकेका युवा संघका कार्यकर्ताले त्यही झन्डाको लाठी र हेलमेटले आफूमाथि आक्रमण गरेको उनले बताए ।
राष्ट्रिय युवा संघ नेपालका प्रदेश इन्चार्ज भरत मल्लले भने आफ्नो पार्टीका नेताहरूका विरुद्ध नाराबाजी भएपछि मुठभेड भएको बताए । ‘हरेक ठाउँमा जेन–जीको नाममा घुसपैठ गरेर हाम्रा कार्यक्रमलाई बदनामित गर्ने, अवरोध गर्ने काम भयो । विमानस्थलबाट फर्किने वेला नेताहरूविरुद्ध नाराबाजी भएपछि हाम्रा केही साथी आक्रोशित भएर अलिकति मुठभेडको अवस्था आएको हो,’ उनले भने, ‘सांगठनिक रूपमा जेन–जी भाइबहिनीहरूलाई हातपात गर्ने योजना थिएन । जहाँ पनि जेन–जीको नाममा टर्चर भएपछि हाम्रा केही युवा आक्रोशित थिए । हाम्रा साथीहरूलाई सम्झाउन खोजिरहेका थियौँ, तर भिडलाई नियन्त्रण गर्न गाह्रो भयो ।’
घटनापछि बेलुकी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर जेन–जी युवाहरूले कुटपिटमा संलग्नको पहिचान गरी कारबाही गर्न माग गर्दै निवेदन दिएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बल प्रयोग गर्दा स्थिति थप भड्किन सक्ने भएकाले सुरक्षा संयमता अपनाइएको बताए ।एमालेका नेता बस्नेत धनगढी आउन लागेको थाहा पाएपछि जेन–जी युवा धनगढी रंगशालाअगाडि सडकछेउको फुटपाथमा लामबद्ध उभिएर बिहानैबाट प्रदर्शन गरिरहेका थिए । बस्नेतले जेन–जी आन्दोलनको उपहास गरेको र देशमा अराजकता फैलाउने काम गरिरहेको आरोप उनीहरूको थियो ।
युवा संघको आयोजनामा हुने युवा जागरण अभियानमा सहभागी हुन धनगढी आएका बस्नेतलाई धनगढी विमानस्थलबाटै युवा संघका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गरेर कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य संघको हल लैजाँदै थिए । हातहातमा प्लेकार्डसहित विरोध गरिरहेका २०–२५ को संख्यामा रहेका जेन–जी युवा महेश बस्नेत आएपछि उनीविरुद्ध नाराबाजी गर्न थाले । त्यसक्रममा मोटरसाइकलमा स्कर्टिङ गरिरहेका युवा संघका कार्यकर्ताले सडकमै मोटरसाइकल रोकेर प्रहरीको सुरक्षा घेरा तोड्दै जेन–जीमाथि कुटपिट गरेका हुन् ।
सिमरामा पनि जेन–जीमाथि कुटपिट गरेको थियो युवा संघले
एमाले कार्यकर्ताले जेन–जीमाथि आक्रमण गरेको धनगढीको पहिलो घटना होइन । यसअघि ३ मंसिरमा बाराको सिमरामा प्रदर्शनमा उत्रिएका एमालेका कार्यकर्ताले काउन्सिल अफ जेन–जी बाराका संयोजक उपाध्याय ‘सम्राट’सहित जेन–जीमाथि कुटपिट गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा आउने खबर पाएपछि सिमरा बजारमा प्रदर्शनमा उत्रिएका जेन–जीमाथि कुटपिट भएपछि अवस्था तनावग्रस्त बनेको थियो । सिमरा विमानस्थल एक दिन बन्द गर्नुपरेको थियो भने दुई दिन सिमरा बजारमा कफ्र्यु लागेको थियो । जितपुर–सिमरा उपमहानगरपालिका– २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्दिन अन्सारी तथा एमाले कार्यकर्ता अरविन्द्र साह पक्राउ परेपछि मात्र तेस्रो दिन (५ मंसिर)मा जेन–जीले आन्दोलन फिर्ता लिएका थिए ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले दमन गरेको थियो । जेन–जी आन्दोलनबाटै सत्ताच्युत भएका ओली, नेता बस्नेतलगायतले जेन–जीविरुद्ध निरन्तर अनेक आरोप लगाउँदै आएका छन् । बस्नेत उपत्यकाबाहिर जाँदा जेन–जी विरोधमा उत्रिँदै आएका छन् । यसअघि ९ मंसिरमा युवा संघले सुर्खेतमा गरेको युवा जागरण कार्यक्रममा बस्नेत जाँदा जेन–जीले प्रदर्शन गरेका थिए ।
जेन–जी र सरकारबिच पनि दूरी बढ्दै
जेन–जी र प्रहरीबिच फेरि तनाव बढ्न थालेको छ । सरकारले आन्दोलनका दोषीलाई कारबाही गर्न नसकेको तथा सुशासन कायम गर्न नसकेको भन्दै जेन–जीहरू विरोधमा उत्रिएपछि दैनिकजसो तनाव भएको छ । बुधबार मिराज ढुंगाना नेतृत्वको जेन–जीको एक समूहलाई प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लियो । उनीहरू सोमबार र मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा सिंहदरबारमै प्रवेश नपाएपछि आक्रोशित भएका थिए । सिंहदरबारकै गेटमा नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई केही समयपछि छोडेको थियो । प्रधानमन्त्रीको सचिवालयमै विवादास्पद पृष्ठभूमिका स्वकीय सचिव राखेको र उनले परिवारका सदस्यलाई नियुक्ति दिलाएको विवादपछि जेन–जी र सरकारको दूरी थप बढेको छ । सुदन गुरुङको समूह मंगलबार ज्ञापनपत्र बुझाउन गएकोमा सिंहदरबार प्रवेश नपाएपछि फर्किएको थियो । रक्षा बम नेतृत्वको जेन–जी फ्रन्टले पनि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई हटाउन माग गरेको छ ।