समुद्री सतहदेखि तीन हजार ४८५ मिटर उचाइमा रहेको तातोपानी गाउँपालिका– ४ स्थित गिडीखोलाबाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।
अध्ययन टोलीका विज्ञ सदस्यहरूले हेलिकोप्टरमार्फत प्रस्तावित विद्युत् उत्पादन गृहदेखि गिडीदहसम्म (ताल) अवलोकन गरेका छन् । टोलीमा जर्मन र भारतीय विज्ञहरू सहभागी छन् ।
विज्ञ टोलीले आयोजनाको सर्भे गरेर विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)बनाउन थालेको जनाएको छ । डिपिआरअनुसार आवश्यक संरचनाहरू निर्माण हुनेछन् । तातोपानी– ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले स्थानीय तहको समन्वयमा एक वर्षदेखि प्राविधिक टोलीले विद्युत् सर्भे गरिरहेको बताए । दुईपटक स्थानीय स्तरमा प्राविधिक जनशक्ति परिचालन गरेर सर्भे भए पनि यसपटक हेलिकोप्टर लिएर विज्ञहरू आफैँ गिडीदह जलाधार क्षेत्रमा पुगेका हुन् ।
वडाध्यक्ष रोकायाले भने, ‘गिडीखोला जलाधार क्षेत्रबाट धेरै ठुलो क्षमताको विद्युत् निकाल्ने गृहकार्य भइरहेको छ । जसका लागि नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिनेदेखि स्थानीय समुदायसँग स्रोत प्रयोगबारे छलफल भइसकेको छ ।’
अहिले नेपाल विद्युत् प्राधिकरणले ७२ मेगावट विद्युत् उत्पादनका लागि अनुमति दिएको वडाध्यक्ष रोकायाको भनाइ छ । उनले भने, ‘३२ मेगावट विद्युत् निकाल्न सकिने प्रारम्भिक अनुमान गरिएको छ । आगामी वैशाख महिनासम्म सबै रिपोर्ट सार्वजनिक हुनेछ ।’
विज्ञ टोली विद्युत् निकाल्न प्रयोग हुने पानीको स्रोत गिडीदहदेखि विद्युतगृह बनाउने स्थानसम्मको अवलोकन गरेर समुदायसँग छलफल गरेर फर्किएको छ । विद्युतकाे डिपिआरदेखि उत्पादन गर्ने जिम्मेवारी आध्यान्त इन्भेस्टमेन्ट प्रालिले लिएको छ ।
सबै रिपोर्ट हेरेर पाँच वर्षसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । पहिलो चरणमा प्राविधिक रिपोर्टले ८० प्रतिशत विद्युत् निकाल्न सकिने सम्भावना देखाइसकेको वडाध्यक्ष रोकायाले बताए ।
कर्णाली प्रदेशको तेस्रो ठुलो र मनोरम गिडीदह पर्यटकको आकर्षणकाे केन्द्रसमेत हो । रारा र फोक्सुन्डाे तालपछि कर्णालीको तेस्रो ठुलो गिडीदहको लम्बाइ एक हजार ५१० मिटर, चौडाइ ३१० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ । ०८१ मा भने तीन सय पर्यटकले गिडीदह भ्रमण गरेका छन् ।