टेस्ट क्रिकेटमा भारतले अहिलेसम्मकै लज्जास्पद हार व्यहोरेको छ। दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा भारत ४०८ रनले पराजित भएको हो। रनका हिसाबले भारतको यो सबैभन्दा ठुलो हार हो।
गुवाहाटीमा भएको टेस्टमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४८९ रन बनाएको थियो। जवाफी ब्याटिङमा भारत पहिलो इनिङमा २०१ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले दोसो इनिङमा थप २६० रन बनाएर इनिङको घोषणा गर्दै भारतलाई ५४९ रनको लक्ष्य दिएकोमा भारत १४० रनमै अलआउट भएको हो। दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ र बलिङतर्फ भारत निकै कमजोर देखियो।
टेस्ट टिमका कप्तान शुभमन गिल पहिलो टेस्टमा घाइते भएपछि दोस्रो टेस्टमा रिसभ पन्तले कप्तानी सम्हालेका थिए। यो हारपछि पन्त र प्रशिक्षक गौतम गम्भीरको आलोचना बढेको छ। दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट पनि भारतले ३० रनले हारेको थियो।
भारत र दक्षिण अफ्रिकाले आगामी आइतबारदेखि एकदिवसीय शृंखला खेल्नेछन्।