स्थानीय सरकारहरूसँगको प्रभावकारी समन्वय नहुँदा कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा विभिन्न प्रजातिका खाद्यबालीको गुणस्तरीय बिउ भण्डारमा नै थन्किएको छ। कृषि अनुसन्धान केन्द्र पाख्रीवास र स्थानीय सरकारहरूसँगको समन्वय प्रभावकारी हुन नसकेपछि कृषकहरूले पाउनुपर्ने गुणस्तरीय खाद्यबालीको बिउ भण्डारमा नै थन्किएको हो ।
अनुसन्धान केन्द्रले विभिन्न प्रजातिका खाद्यबालीहरूको बिउ उत्पादन गर्दै आएको भए पनि बिक्री हुन सकिरहेको छैन। तर, पनि केन्द्रले बिउ उत्पादनलाई निरन्तरता दिइरहेको छ। कृषि अनुसन्धान केन्द्रले यस वर्ष करिब चार टन गुणस्तरीय गहुँको बिउ उत्पादन गरेको भए पनि अहिलेसम्म आधा मात्र बिक्री भएको केन्द्रले जनाएको छ।
त्यस्तै, साग, मुला, मुसुरोलगायतका अन्य बालीको पनि गुणस्तरीय बिउ भण्डारणमा नै थन्किएको छ। अनुसन्धान केन्द्रले धेरै गुणस्तरीय बिउ उत्पादन गर्दै आएको भए पनि बिक्री हुने अवस्था नरहेको कृषि अनुसन्धान केन्द्र पाख्रीबासका कृषि प्राविधिक सविन विश्वकर्माले बताए ।
कृषि अनुसन्धान केन्द्र पाख्रीबासको कार्यक्षेत्रअन्तर्गत १० वटा जिल्ला पर्दछन् । ती जिल्लाका हरेक स्थानीय तह र कृषि ज्ञान केन्द्रहरूलाई पत्राचार गरी बिउ खरिदका लागि जानकारी गराएको पनि स्थानीय तहहरूले चासो नदेखाएको कृषि अनुसन्धान केन्द्र पाख्रीबासका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक प्रेमिल केसीले बताए । स्थानीय तहहरूले आफ्नै हिसाबले बाहिरबाट बिउहरू खरिद गर्ने गर्दछन् ।