गाउँब्लकपीडित ६२५ जनालाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको महाराजगन्ज नगरपालिका– १ का ६२५ जना गाउँब्लकपीडितहरूलाई लालपुर्जा वितरण गरिएको छ । मंगलबार एक समारोहबिच नगरप्रमुख अब्दुल कलाम,  प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मी, नापी कार्यालयका प्रमुख जनक भण्डारी र वडा नं  १ का अध्यक्ष प्रमोदकुमार चौधरीले संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरे । 

नगरप्रमुख अब्दुल कलामले भने, ‘वर्षौँदेखि नागरिकले भोगचलन गर्दै आएको जग्गा कागजमा प्रमाणित हुन नसक्दा ठुलो पीडा व्यहोर्नुपरेको थियो। आज लालपुर्जा हातहातमा पुर्याउनु केवल कागजी प्रक्रिया मात्र होइन, नागरिकको आत्मविश्वास र अधिकार सुरक्षित गर्ने ऐतिहासिक क्षण रहेको र नगरपालिका अब बाँकी ब्लकहरूको काम छिटो सम्पन्न गर्न प्रतिबद्ध छ ।’  वर्षौँदेखि भोगचलन गर्दै आए पनि लालपुर्जा नहुँदा समस्यामा परेका स्थानीयले प्रमाणपत्र पाएपछि खुसी व्यक्त गरेका छन्।

नगरप्रमुख कलामले भने, ‘महाराजगन्ज नगरपालिका– १ का बासिन्दाले वर्षौँदेखि जोतभोग गरे पनि कागज नभएकनमा आज लालपुर्जा हातमा पर्दा बल्ल जग्गाको वास्तविक मालिक भएको अनुभूति भएको छ ।’  प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मीले भने, ‘नापी कार्यदेखि लालपुर्जा वितरणसम्मको प्रक्रियामा धेरै प्राविधिक चुनौती थिए, तर सहकार्य र निरन्तरको प्रयासले हामीले यो महत्त्वपूर्ण काम सम्पन्न गर्दै छौँ। गाउँब्लक समस्या समाधान हाम्रो प्राथमिकता हो र भविष्यमा कुनै पनि नागरिक कागजी प्रमाण अभावले समस्या भोग्न नपरोस् भन्ने हाम्रो लक्ष्य रहेको छ ।’

अभियानअन्तर्गत वर्षौँ लामो प्रतीक्षापछि कपिलवस्तु १० पालिकाका सात हजार ६८० जना ‘गाउँब्लक’ पीडितले अन्ततः जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको बताइएको छ ।   वि.सं. २०२६ सालको नापीका क्रममा छुट भएका र २०७३ सालमा पुनः नापी गरिएका जग्गाहरूको लालपुर्जा यस वर्ष वितरण गरिएको नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारीका बताए ।  हालसम्म सात हजार ६८० जना गाउँब्लकपीडितलाई लालपुर्जा वितरण गरिसकिएको भण्डारीको भनाइ छ।
 

सुझावित समाचार