दोस्रो एनपिएलको १२औँ खेलमा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबिच खेल हुँदै छ । चालू एनपिएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन् । उत्कृष्ट फर्ममा रहेको विराटनगरको लक्ष्य नै चितवनलाई निराश बनाउँदै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने हो । अर्कोतिर पहिलो खेलमा कर्णाली याक्समाथि सनसनी जित निकालेको चितवन फेरि एकपटक सनसनी जित निकाल्ने तरखरमा छ ।
ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन हुँदा चितवनले दोस्रो खेल गुमाएको थियो । चितवन अंकतालिकाको चौथो स्थानमा उक्लने योजनाका साथ मैदानमा प्रवेश गर्नेछ । पहिलो खेलमा ४ विकेटले विजयी हुँदा चितवन दोस्रो खेल ६ विकेटले पराजित भयो । प्ले–अफको सम्भावना बलियो बनाएको विराटनगरले भने जनकपुर बोल्ट्ससँगको खेल मात्र संघर्ष गरेको थियो ।
विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा मात्र नौ रनले हराएको थियो । यसबाहेक विराटनगरले पोखरालाई ५३ रन तथा काठमाडौं गोर्खाजविरुद्ध पाँच विकेटको जित निकाल्यो । चितवनको तुलनामा विराटनगर ब्याटिङ र बलिङमा बलियो देखिन्छ । अझ विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट फर्ममा छन् । जनकपुरसँगको खेलमा सन्दीपले घातक बलिङ गरेका थिए ।
सन्दीपले अहिलेसम्म सात विकेट लिइसकेका छन् । त्रिविको स्पिनर पिचमा उनी निकै प्रभावशाली बनिरहेका छन् । अघिल्लो खेलमा ११ रन खर्चेर चार विकेट हात पारेका सन्दीपले चितवनविरुद्ध यस्तै प्रदर्शनको आशा गरेका छन् । विराटनगरको बलियो बलिङ आक्रामकविरुद्ध चितवनका रवि बोपारा प्रमुख तगारो खेलाडीका रूपमा रहनेछन् । बोपाराले लगातार दुई खेलमा अर्धशतकीय इनिङ्स खेलेका छन् ।
यस्तै दीपक बोहोरा, कुशल मल्ल तथा मालानले पनि चितवनको ब्याटिङ बलियो बनाएको छ । विराटनगरलाई मुख्य डर भनेको चितवनका पाकिस्तानी फास्ट बलर सोहेल तन्भिर हुन् । तन्भिर आफ्नो क्षमताअनुसार बलिङ गर्न सकिरहेका छैनन् । तर, तन्भिर महत्वपूर्ण खेलमा फर्ममा आउन सक्छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनले यस्तै प्रदर्शनको नमुना प्रस्तुत गरेका थिए । एनपिएलको पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो । पहिलो ब्याटिङ गरेको विराटनगरले पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । चितवनले २० ओभरमा ६ विकेटको नोक्सानीमा १३० रन जोडेको थियो । त्रिवि क्रिकेट रंगशालामा चितवन अघिल्लो हारको बदला लिने योजनाका साथ प्रस्तुत हुन सक्छ । विराटनगर भने चितवनमाथि जित निरन्तरता दिने प्रयासमा हुनेछ ।
प्लेयर्स टु वाच
दीपक बोहोरा (चितवन)
एनपिएलमा चितवनका ओपनर दीपकको प्रदर्शन सन्तोषजनक मान्नुपर्छ । उनले दुई खेलमा ५२ रन बनाइसकेका छन् । कर्णाली याक्ससँगको पहिलो खेलमा आक्रामक ब्याटिङ गरी उनले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन जोड्दै चितवनलाई विजयी गराएका थिए । दोस्रो खेलमा उनले आफ्नो फर्मलाई निरन्तरता दिन सकेनन् । तर, विपक्षी बलर कमजोर पाउँदा दीपक ठुलो प्रहार गर्न सक्छन् । खेलको अवस्थाअनुसार बिस्तारै रनरेट बढाउने र पार्टनरसँग साझेदारी गर्नमा उनी विश्वास राख्छन् । चितवनले आफ्नो तेस्रो खेलमा अपराजित विराटनगरविरुद्ध प्रतिस्पर्धा गरिरहँदा दीपकबाट आक्रामक ब्याटिङको आशा गर्न सकिन्छ ।
सैफ जैव (चितवन)
इंग्ल्यान्डका जैव ब्याटिङ अलराउन्डर हुन् । कुनै पनि अर्डरमा ब्याटिङ गर्न सक्ने क्षमता भएका जैवले पहिलो खेलमा चितवनलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले कर्णालीविरुद्ध ३८ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । दोस्रो खेलमा अनावश्यक सट खेल्दा उनी १५ रनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यान जैवले कर्णालीसँगको खेलमा केवल १६ बलमा चार छक्का र दुई चौका प्रहार गरेका थिए । स्ट्रोक खेलाडी जैवले इंग्ल्यान्डको पहिलो श्रेणी तथा लिस्ट ‘ए’बाट खेलिसकेका छन् । उनले समग्रमा ९८ टी–२० खेलमा आठ अर्धशतकको सहयोगमा एक हजार ६२५ रन बनाएका छन् ।
शुभम रान्जाने (विराटनगर)
विराटनगर किंग्सले युएईका शुभमलाई विदेशी कोटाबाट अनुबन्ध गरेको हो । ब्याटिङ र बलिङमा एकैनासको प्रदर्शन गर्नु नै उनको विशेषता हो । उनी धैर्यतापूर्वक ब्याटिङ गर्छन् । क्रिजमा सेट भएपछि ठुलो प्रहारतर्फ शुभम अग्रसर हुन्छन् । विराटनगरले तीनवटै खेल जित्दा उनले जनकपुर बोल्ट्स तथा पोखरा एभेन्जर्सविरुद्ध अलराउन्डर खेल देखाए । उनले जनकपुरविरुद्ध ३७ रन र एक विकेट हात पारेका थिए । यसैगरी, पोखरासँगको प्रतिस्पर्धामा उनले ३९ रनको योगदान मात्र दिएनन्, दुई विकेटसमेत हात पारेका थिए । बलिङ र ब्याटिङमा उच्च योगदान दिन सक्ने खेलाडी भएका कारण उनले चितवनविरुद्ध यस्तै प्रदर्शनको आशा गर्न सकिन्छ ।
प्रतिश जिसी (विराटनगर)
प्रतिश विराटनगर किंग्सका अलराउन्डर खेलाडी हुन् । विराटनगर एनपिएलमा अपराजित रहँदा प्रतिशले पहिलो खेलमा पोखराविरुद्ध दुई महत्वपूर्ण विकेट लिएका थिए । उनले २९ रन खर्चेर दुई विकेट हात पारेका थिए । त्यसपछि काठमाडौं र जनकपुरसँगको प्रतिस्पर्धामा बलिङ अवसर पाए पनि उनी विकेटविहीन भए । नेपालको यू–१९ टोली हुँदै राष्ट्रिय टोलीसम्म स्थान बनाइसकेका प्रतिश विराटनगरका एक अनुभवी खेलाडी पनि हुन् । उनले नेपालबाट तीन एकदिवसीय खेलमा दुई विकेट तथा १० टी–२० आईमा आठ विकेट हात पारेका छन् । प्रतिशको बलिङ इकोनोमी एकदिवसीयमा ४.२९ र टी–२० आईमा ८.८ रहेको छ ।