आत्मदाह प्रयास गरेका पुरुषको उपचारको क्रममा मृत्यु

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

आफैँले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका– ७, डुमडुमेनजिकै मंगलबार राति झापा गौरादह नगरपालिका– २ निवासी ५५ वर्षका सूर्यप्रसाद पोखरेलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घटनामा उनकाे शरीरको ९० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । 

आगोले शरीर जलेर सडकमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले सिटी हेल्थ केयर लालबन्दीमा प्राथमिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको हो । गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखरेलले किन आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए भन्ने कुरा नखुलेको प्रहरी निरीक्षक जोहारीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।
 

सुझावित समाचार