भोजपुरका मानबहादुर तामाङ मलेसियाको राजधानी क्वालालम्पुरमा सेक्युरिटी गार्डमा कार्यरत छन् । जेन–जी आन्दोलनको आडमा बनेको सरकारले चुनावलाई विशेष प्राथमिकता दिँदै नयाँ सरकार र स्थायी सरकार गठन गर्न भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।
मलेसियाको जलान एचएलसीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका पूर्ण लिम्बू पनि नेपालमा चुनाव घोषित समयमै हुनुपर्ने बताउँछन् । निर्वाचनको समय हेरफेरले देशमा समस्या आउने भएकाले निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।
मोरङकी कमलादेवी श्रेष्ठ मलेसियामा नेपालीले नै सञ्चालन गरेको एउटा रेस्टुरेन्टमा कार्यरत छिन् । जेन–जी आन्दोलनले देशलाई नयाँ दिशाबाट अगाडि बढाउने माहोल बनाएकाले निर्वाचनबाट नयाँ र स्थिर सरकार चयन हुनुपर्ने उनको सुझाव छ ।
रोजागरी सिलसिलामा दुई वर्षअघि मलेसिया पुगेकी मोरङ उर्लाबारीकी कल्पना तिमिल्सिनाले युवाहरूले देशलाई नयाँ बाटो देखाएकाले अब निर्वाचनबाट निकास निकाल्नुपर्ने र देशलाई विकासको बाटोमा अघि बढाउनुपर्ने बताउँछिन् । मलेसियामा दुई दशकभन्दा बढी समयदेखि कार्यरत तेह्रथुमका पदमराज लिम्बू जनजाति महासंघका अध्यक्ष पनि हुन् । मलेसियाबाटै जेन–जी आन्दोलनले सत्ता ढालेको देखेका उनले अब सही नेतृत्व निर्वाचनबाट चयन हुनुपर्ने बताउँछन् । सत्तामा रहेकाहरूले देशमा लुट मच्चाएको आरोप लगाउँदै उनले त्यसबाट देशलाई बाहिर निकाल्न युवाहरूको पनि प्रमुख सहभागितासहितको स्थिर सरकार निर्वाचनबाट आउनुपर्ने उनको भनाइ छ ।
सिराहाको कर्जन्हा नगरपालिका– ११ बगहाका प्रमोदकुमार महतोले युवाहरूको आन्दोलनकै कारण पुरानो सत्ता ढलेकाले निर्वाचनबाटै स्थिर सरकार बनाउने र निर्वाचन निर्धारित समयमा हुनुपर्ने बताए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का सदस्य नेत्र केसीले अन्तरिम सरकारले चुनावलाई बढीभन्दा बढी प्राथमिकता दिँदै राजनीतिक स्थिरताका लागि भूमिका खेल्नुपर्ने बताए । निर्वाचनमा युवाहरूले सही नेतृत्व चयन गर्नुपर्ने र युवाहरूको भूमिका पनि निकै महŒवपूर्ण भएको उनको भनाइ छ ।
लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका र व्यापार व्यवसाय गर्दै आएका नेपाली समुदायहरू सबैको समयमै निर्वाचन हुनुपर्ने धारणा छ । जेन–जी आन्दोलनले भ्रष्ट शासन सत्ताको जरा हल्लाइदिएकाले स्थायी सरकार बन्ने गरी निर्वाचन समयमै सम्पन्न हुनुपर्ने उनीहरूको भनाइ छ ।
चार दशकमा नेपालको शासन व्यवस्था बदलिए पनि सत्तामा हुनेहरूले भ्रष्टाचार गर्ने र चरम बेथितिका कारण विकासमा पछाडि परेको र रोजगारी सिर्जना हुन नसक्दा युवाहरू बिदेसिनुपरेको उनीहरूको भनाइ छ ।
जेन–जी आन्दोलनले दिएको जिम्मेवारी वर्तमान सरकारले पूरा गर्न सक्रियता अझै बढाउनुपर्ने र त्यसका निम्ति आवश्यक संवाद र सहकार्य गर्दै देशलाई निर्वाचन केन्द्रित गर्नुपर्ने आवश्यकता उनीहरूले देखेका छन् । अन्तरिम सरकारले प्रमुख रूपमा जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मेवारी तत्कालीन सरकारको प्रमुखहरूको भएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने र निर्वाचनमैत्री सक्रियतामा जोड दिनुपर्ने धारणा राखेका छन् ।
विदेशमा रहेका लाखौँ नेपाली मतदाताले सही नेतृत्व चयनमा प्रमुख भूमिका खेल्न सक्ने भएकाले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । साउदी अरब, कतार, युएई, मलेसियालगायतमा लाखौँ नेपाली युवाहरू रोजगारीमा रहेकाले उनीहरूलाई मताधिकार प्रयोग गर्ने विषयमा सरकारले आवश्यक कानुनी र कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।