कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षलाई ‘कोशीको गौरव, हिमालको सान : पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित पर्यटन वर्षको रूपमा अघि सारेको थियो। तर, पर्यटन वर्ष उद्घाटन भएको लगभग पाँच महिना बितिसक्दा पनि ठोस कार्यक्रम अघि बढ्न नसक्दा अभियान नै अनिश्चिततामा परेको छ।
पूर्वाधार विकास र प्रचारप्रसारलाई मुख्य लक्ष्य बनाएर व्यापक तयारी गर्ने भनिएको थियो। चैत महिनामा औपचारिक रूपमा पर्यटन वर्ष उद्घाटन गरिए पनि त्यसपछि सम्बन्धित कुनै महत्त्वपूर्ण गतिविधि सञ्चालन हुन सकेको छैन।
मन्त्रालयको व्यवस्थापन, कोठा सर्नेजस्ता आन्तरिक झन्झट र ‘जेन–जी आन्दोलन’ले पैदा गरेको वातावरणका कारण मन्त्रालयले पर्यटनसम्बन्धी काम थाल्न नसकेको पर्यटन शाखाका अधिकृत पेसलकुमार पौडेलले जानकारी दिए। बजेट कटौतीको ‘हल्ला चलेका’ कारण पनि काम गर्न नसकिएको पौडेलले बताए। उनका अनुसार बजेट कटौतीको आधिकारिक निर्णय अहिलेसम्म प्राप्त भएको छैन। भर्खरमात्र यसबारे कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाइएकोसमेत उनले जानकारी दिए। गत भदौमै हुने भनिएको काम मन्त्रालयका सचिव नहुँदा अगाडि बढ्न नसकेको अधिकृत पौडेलको भनाइ छ।
यसैबिच, पर्यटन व्यवसायीहरू भने प्रशासनिक ढिलासुस्ती र सुरक्षासम्बन्धी अनिश्चितताले पर्यटक आगमनमा नकारात्मक असर परेको बताउँछन्। ‘जेन–जी आन्दोलन’पछि भारतीय पर्यटकमा नेपालप्रति त्रासपूर्ण वातावरण भएको र भारतबाट पर्यटकहरू कम आएको बताइन्छ। अधिकृत पौडेलले पर्यटन वर्षका लागि पाँच करोड ४६ लाख रुपैयाँ विनियोजन भएको र सो रकम बाँडफाँट गरेर पर्यटन गतिविधि सुरु गरिने बताए।
भारतीय पर्यटकहरूलाई सवारी चेकिङ, जरिवाना तथा अनावश्यक झन्झटले पनि निरुत्साहित बनाइरहेको छ। पहाड–हिमाल घुम्न वा शक्तिपीठ दर्शनका लागि आउने पर्यटकहरू बाटोमा पटक–पटक रोकिएर हैरान हुने गरेको गुनासो छ। प्रचारप्रसारमा सरकारले चासो नदिँदा भारतमा नेपालका आकर्षक गन्तव्यबारे पर्याप्त जानकारी पुर्याउन पनि सकिएको छैन।
कोशी प्रदेशमा ८० पर्यटकीय गन्तव्यहरू पहिला पहिचान गरिए पनि अहिले ८० भन्दा धेरै गन्तव्य भएकाले हटाइएको मन्त्रालयले जनाएको छ।