गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेन–जी युवाहरूबाट भदाै २३ र २४ गते भएको प्रदर्शनपश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकोले नै यो त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी– २०८२ कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री अर्यालले यस्ताे बताए ।
अहिलेको सामान्य परिस्थितिमा आइपुग्न सबैको अथक प्रयास र मिहिनेतको कारण मात्र शान्तिसुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउँदै मन्त्री अर्यालले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताए। ‘हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौँ । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहीँकतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ,’ मन्त्री अर्यालले भने ।
‘वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन । हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका पनि होइनौँ ।देशको विशिष्ट अवस्थामा, शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ ।हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन । प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ,’ गृहमन्त्री अर्यालले भने ।
सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेमा समेत मन्त्री अर्यालले विश्वास व्यक्त गरे । शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सिर्जनामा प्रदेश सरकारको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण रहनेमा समेत मन्त्री अर्यालले जोड दिए ।
सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चातका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको बताए। ‘केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनेछ भन्ने मैले विश्वास लिएको छु,’ मन्त्री अर्यालले भने ।