दोस्रो संस्करणको एनपिएलअन्तर्गत मंगलबार काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबिच दिउँसो चार बजे प्रतिस्पर्धा हुँदै छ । काठमाडौं र लुम्बिनीका एउटै लक्ष्य जित हुन् । काठमाडौं र लुम्बिनीले आ–आफ्नो पहिलो खेलमा जित निकाल्दै एनपिएलमा उत्कृष्ट सुरुवात गरेका थिए । त्यसपछि दुवै टोलीले जितको लय गुमाए । एनपिएलको ११औँ खेलमा अंकतालिकामा सुधार गर्ने लक्ष्यका साथ काठमाडौं र लुम्बिनीका खेलाडी त्रिवि क्रिकेट रंगशालामा ओर्लनेछन् ।
काठमाडौंले पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि पाँच विकेटको जित निकालेको थियो । सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको काठमाडौं विराटनगरबाट पाँच विकेटले हार्यो । लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजमाथि ६ विकेटको सानदार जित निकालेको थियो । दोस्रो खेलमा लुम्बिनीले कर्णाली याक्सलाई नौ विकेटले खेल सुम्पियो । प्ले–अफको आशा जीवितै राख्न पनि यी दुवै टोलीलाई जित आवश्यक छ ।
काठमाडौंले तीन खेलमा दुई अंक जोडेको छ । लुम्बिनीले दुई खेलबाट दुई अंक हात पारेको छ । जितले दुईमध्ये एक टोली अंकतालिकाको तेस्रो स्थानमा उक्लनेछ । काठमाडौं र लुम्बिनीको एउटै समानता छ । यी दुवै टोली पछिल्ला खेलमा ब्याटिङमा कमजोर प्रदर्शन गरेका थिए । उनीहरूले स्कोर बोर्डमा विपक्षीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सकेनन् । काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा टोली पराजित भएको बताउँदै आएका छन् । लुम्बिनीका प्रशिक्षक टिनु योहान्नानको तर्क पनि यस्तै छ । ओपनिङ र फिनिसिङ गतिलो नहुँदा लुम्बिनीले स्कोर बोर्डमा ठुलो योगफल खडा गर्न नसकेको टिनुको भनाइ छ । काठमाडौंका कप्तान करण केसीले बलिङमा विपक्षी ब्याट्सम्यानमाथि दबाब राखे पनि उसका ब्याट्सम्यानहरूले अपेक्षाअनुसार ब्याटिङ गरेका छैनन् । लुम्बिनीको मध्यक्रम बलियो देखिन्छ । तर, लुम्बिनीको फिनिसिङ गतिलो छैन । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट फर्ममा छन् । उनले मध्यक्रममा टोलीको ब्याटिङ बलियो मात्र बनाएका छैनन् । अन्य ब्याट्सम्यानसँग साझेदारी पनि राम्रो साथ दिइरहेका छन् । उनले चितवनविरुद्ध ३९ रन तथा कर्णालीविरुद्ध ४९ रन जोडेका थिए ।
एनपिएलको पहिलो सिजनमा यी दुवैबिचको खेल लो स्कोरिङ भएको थियो । पहिलो ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाउँदा काठमाडौं १८ रनले विजयी भयो ।
प्लेयर्स टु वाच
सन्दीप जोरा (लुम्बिनी)
हङकङ सुपर सिक्सेजदेखि सन्दीप उत्कृष्ट फर्ममा छन् । यस सिजनको हङकङ सिक्सेजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान नै उनी बनेका थिए । मध्यक्रमका सन्दीपले पहिलो खेलमा चितवनविरुद्ध २८ रनको योगदान दिएका थिए । तर, दोस्रो खेलमा उनले कर्णालीसँगको महŒवपूर्ण खेलमा एक रनमात्र जोडे । यद्यपि, टी–२० फर्म्याटमा जोरा नेपाली खेलाडी मध्य राम्रा ब्याट्सम्यान मानिन्छन् । क्रिजमा थोरै समय पाउँदा उनले खेलको अवस्था नै परिवर्तन गर्न सक्छन् । काठमाडौंविरुद्धको प्रतिस्पर्धामा उनी लुम्बिनीका लागि प्रभावशाली बन्न सक्छन् ।
डार्सी जोन सर्ट (लुम्बिनी)
अस्ट्रेलियाका अनुभवी खेलाडी डार्सीले कर्णाली र चितवनविरुद्ध खासै जम्न सकेनन् । उनले कर्णालीविरुद्ध १९ रन तथा चितवनसँगको खेलमा ११ रन मात्र जोडेका । यी दुवै खेलमा बलिङ गरे पनि उनी विकेटविहीन भएका थिए । दुई खेलमै ओपनिङमा गतिलो योगदान दिन नसकेका डार्सी समक्ष काठमाडौंविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने अवसर छ । अस्ट्रेलियाबाट एकदिवसीय खेलमा एक अर्धशतकको मद्दतमा दुई सय ११ रन जोडेका डार्सीले टी–२० आईमा चार अर्धशतक लगाएका छन् । ओपनिङ ब्याटिङ जिम्मेवारी सम्हाल्ने उनले बायाँ हातले स्पिन बलिङ गर्छन् ।
साहव आलम (काठमाडौं)
आलमले कप्तान करण केसीलाई बलि एट्याक्टमा गतिलो साथ दिइरहेका छन् । बायाँ हाते स्पिनर आलमले एक खेलमा मात्र विकेटविहीन भएका छन् । उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिम रोयल्ससँगको खेलमा १३ रन खर्चेका उनले विकेट लिन सकेनन् । जनकपुर बोल्ट्ससँगको उद्घाटन खेलमा उनले २० रन दिँदै एक विकेट हात पारे । विराटनगर किंग्सविरुद्ध उनले १९ रन दिएर दुई विकेट लिँदा पनि काठमाडौंलाई जित दिलाउन सकेनन् । त्रिवि क्रिकेट रंगशालामा उनको बलिङ बिस्तारै प्रभावशाली भइरहेको देखिन्छ । पिच ओसिलो हुँदा स्पिन बलिङको प्रभाव देखिएको छ ।
बेन चार्लेसवर्थ (काठमाडौं)
काठमाडौंले लगातार दुई खेल गुमाए पनि इंग्ल्यान्डका यूवा खेलाडी वेनले ब्याटिङमा निराश पारेका छैनन् । सुदूरपश्चिम रोयल्ससँगको प्रतिस्पर्धाबाहेक उनले विराटनगर किंग्स र जनकपुर वोल्ट्सविरुद्ध अपेक्षाअनुसारै ब्याटिङ गरेका छन् । जनकपुरविरुद्ध ४६ रन तथा विराटनगरसँगको खेलमा ३२ रन बनाएका वेनले लुम्बिनीको कमजोर बलिङको फाइदा लिन सक्छन् । ओपनिङमा विपक्षी बलरको धारिलो आक्रामणविरुद्ध उनी डटेर सामना गर्छन् । ओपनिङ र अरू विकेटमा राम्रो साथ पाउँदा बेन आक्रामक रूपमा प्रस्तुत हुने गर्छन । उनले करिअरमा ४४ टी–२० खेलमा ७ सय ७६ रन बनाएका छन् ।