सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको सोमबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले लगातार तेस्रो खेलमा जित निकालेका छन् । सहभागी ८ फ्रेन्चाइजमध्ये सुदूरपश्चिम र विराटनगर मात्र खेल नगुमाउने टोली बनेका छन् । तेस्रो खेलसम्म अपराजित रहँदा दुवै टोलीका कप्तान आ–आफ्ना खेलमा चम्किए । दिनको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि नौ रनको रोमाञ्चक जित निकाल्दा विराटनगरका कप्तान सन्दीप लामिछानेले ११ रन खर्चेर चार विकेट लिए ।
डेनाइटमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको फराकिलो जित हात पार्दा कप्तान दीपेन्द्रसिंह ऐरीले २३ रन खर्चेर महŒवपूर्ण चार विकेट हात पारेका थिए । उनले ब्याटिङमा २८ बलमा ३९ रनको योगदान दिए । दीपेन्द्रसिंह र सन्दीप आ–आफ्ना खेलका म्यान अफ दी म्याच घोषित भएका थिए । सुदूरपश्चिम र विराटनगरले समान तीन खेलबाट ६ अंक जोडेका छन् । रनरेटमा सुदूरपश्चिम पहिलो तथा विराटनगर दोस्रो स्थानमा छ ।
सुदूरपश्चिम र विराटनगरका मध्य योगफल
त्रिवि क्रिकेट रंगशालाको बलिङ पिचमा सुदूरपश्चिम र विराटनगरले आ–आफ्नो खेलमा प्रतिस्पर्धीविरुद्ध पहिलो ब्याटिङ गरेका थिए । पहिलो खेलमा विराटनगरले टस हारी ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । प्रत्युत्तरमा जनकपुर बोल्ट्सले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय २६ रन जोड्दा विराटनगरले नौ रनको रोमाञ्चक जित हात पार्यो । दोस्रो खेलमा कर्णालीविरुद्ध सुरुवातमा ब्याटिङ गरी सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल खडा गर्यो । प्रत्युत्तरमा सहज मानिएको लक्ष्य पछ्याउँदा कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटियो । अघिल्लो खेलमा कर्णालीले लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । तर, सुदूरपश्चिमको बलियो बलिङविरुद्ध कर्णालीको ब्याटिङ फितलो देखियो ।
पावर प्लेमै दीपेन्द्रको घातक बलिङ
१ सय ४० रन रक्षा गर्न मैदानमा ओर्लेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंहले दोस्रो ओभरमै बलिङ गरेका थिए । उनले १.५ ओभरमा भारतको रणजी ट्रफीका अनुभवी ब्याट्सम्यान प्रियांक पाञ्चाललाई विनोद भण्डारीबाट विकेटपछाडिबाट स्टम्पिङ गराए । ३.३ ओभरमा दीपेन्द्रसिंहले दोस्रो एनपिएलकै पहिलो शतक लगाएका खतरनाक ब्याट्सम्यान मार्क वाटको महŒवपूर्ण विकेट लिए । उनले १० रनमा १७ रन जोडेका वाटलाई एलबिडब्लूको धरापमा राखे । पावर प्लेमै चम्किएका दीपेन्द्रसिंहले ५.२ ओभरमा अफगानिस्तानका आक्रामक ब्याट्सम्यान नाजिबुल्लाह जार्दानलाई एलबिडब्लूको सिकार गर्दै कर्णालीलाई २९–४ को कमजोर स्थितिमा पुर्याए । दीपेन्द्रसिंहले इनिङ्सको १३.६ ओभरमा गुल्सन झाको विकेट लिँदा कर्णाली ८१–७ को नाजुक अवस्थामा रह्यो ।
कर्णालीको ब्याटिङमा पवन सराफले २६ बलमा चार चौका प्रहार गरी सर्वाधिक २७ रको योगदान दिए । सोमपाल र पवनबिच पाँचौँ विकेटका लागि ३४ रनको ठोस साझेदारी भएको थियो । यसपछि कुनै पनि ब्याट्सम्यानबिच गतिलो साझेदारी भएन । सुदूरपश्चिमको जितमा अमेरिकन खेलाडी हर्मित सिंहले चार ओभरमा एक मेडन राखी १९ रन खर्चेर २ विकेट लिए । उनले ब्याटिङ क्रममा १६ बलमा समान एक चौका र छक्का प्रहार गरी १९ रन जोडेका थिए । सुदूरपश्चिमको ब्याटिङमा हर्मित र दीपेन्द्रसिंहबिच छैटौँ विकेटका लागि महŒवपूर्ण ४८ रनको साझेदारी भएको थियो ।
सन्दीपको स्पिनमा जनकपुर धराशयी
स्पिनरका लागि सहयोगी पिच मानिएको त्रिवि रंगशालामा विराटनगरले पहिलो ब्याटिङ गरेको थियो । जनकपुरका संगिथ कोराय र रुपेश सिंहले समान दुई विकेट लिँदा विराटनगरको ब्याटिङ कमजोर रह्यो । रन बनाउन संघर्षरत विराटनगरका लागि बसिर अहमेद र सुभम रञ्जनेले चौथो विकेटका लागि ५५ रनको महŒवपूर्ण साझेदारी गरेका थिए । बसिरले ३५ बलमा तीन छक्का प्रहार गरी ३६ रन तथा सुभमले २९ बलमा समान दुई छक्का र चौका प्रहार गरी ३७ रन जोडे । जनकपुरको ब्याटिङमा शीर्ष तथा मध्यक्रम बलियो देखियो । तर, पुछारका ब्याट्सम्यानहरू निरन्तर रूपमा पेभेलियन फर्कँदा जनकपुर लक्ष्यसम्म पुग्न सकेन ।
यसमा विराटनगरका कप्तान सन्दीपले घातक बलिङ गरे । उनले इनिङ्सको ६.४ ओभरमा अनिल साह, ८.२ ओभरमा मिलान्थ, १७.२ ओभरमा रूपेश सिंह तथा १७.३ ओभरमा कोरायको विकेट लिँदै विराटनगरको जित सम्भव बनाए । जनकपुरको ब्याटिङमा ओपनर लाहिरू मिलान्थले २२ बलमा २३ रन तथा सञ्जय कृष्णमूर्तिले १२ बलमा २० रनको योगदान दिए । जान निकोलले ३० बलमा ४१ रन बटुले पनि टोलीलाई जित दिलाउन सकेनन् ।