प्रेरक प्रसंग : समयको पालना

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

हामीकहाँ ‘नेपाली समय’ भन्ने चलनै बसिसकेको छ । हामी कुनै पनि काम समयमै सुरु गर्दैनौँ । समयमै सुरु नभएपछि समयमै पूरा हुने त कल्पनै गर्नुपरेन । कतै कुनै काम, कार्यक्रम, भेटघाट, भोजभतेर या बैठकमा जाँदा पनि हामी ‘नेपाली समय’ भन्दै आफू पनि समयमै पुग्दैनौँ र अरू पनि समयमै पुग्ने अपेक्षा गर्दैनौँ । त्यसैले त हाम्रा ठुल्ठुला आयोजनासमेत वर्षौंसम्म अल्झिरहेका हुन्छन् । तैपनि, हामी ‘नेपाली समय’ भन्दै हाँसेरै टारिरहेका हुन्छौँ । 

समयको पालनामा अहिंसावादी नेता महात्मा गान्धी अत्यन्त कडा थिए । उनी आफू पनि तोकिएकै समयमा कार्यक्रम स्थलमा पुग्थे र अरूबाट पनि त्यस्तै अपेक्षा गर्थे । यहाँसम्म कि उनीसित भेटघाटका लागि आउने हरेक व्यक्तिलाई निश्चित समय दिइन्थ्यो । तर, कुराकानी लम्बिँदै जाँदा कहिलेकाहीँ उसलाई तोकिएको समयभन्दा बढी पनि हुन सक्थ्यो । तर, कसैले तोकिएभन्दा बढी समय लिने प्रयास गरेको खण्डमा गान्धी स्वयंले घडी देखाएर भेटघाटको समय समाप्त भएको सूचना दिने गर्थे । 

गान्धीको यस्तो समयको परिपालनाबाट अमेरिकी चर्चित पत्रकार लुई फिसर पनि प्रभावित थिए । एकपटक उनी गान्धीसितको भेटघाटमा थिए । तर, तोकिएको समय समाप्त भइसक्दा पनि उनको कुराकानी टुंगिएको थिएन । यस्तोमा गान्धी स्वयंले घडी देखाएर भेटघाटको समय सकिएको सूचना दिएर उनलाई बिदा गरेका थिए । यति मात्र होइन, गान्धी जहिल्यै भाषण गर्दा पनि अगाडि घडी राख्न भुल्दैनथे र समयको पालना गर्दै ठिक समयमा आफ्नो भाषण टुंग्याउने गर्थे ।

सुझावित समाचार