संखुवासभाको सभाखोला—केवाखोला सडकखण्डमा टाइम कार्ड लागू गरिएको छ। जिल्लामा नै पहिलोपटक उक्त सडकखण्डमा टाइम कार्ड लागू गरिएको हो।
गत शनिबारदेखि जिल्लाको सभाखोलादेखि लेगुवा धनकुटा निस्कने सडकखण्डको चैनपुर नगरपालिका–११ सभाखोलादेखि धर्मदेवी नगरपालिका–८ स्थित केवाखोलासम्मको सडकखण्डमा टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए। उक्त सडकखण्डमा दुर्घटनाको उच्च जोखिम बढ्दै गएपछि टाइम कार्ड लागू गरिएको डिएसपी मैनालीले बताए।
यसअघि नै जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको अध्यक्षतामा बसेको बैठकले केवा—सभाखोला सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै टाइम कार्ड लागू गरिएको हो। सभाखोलादेखि केवाखोलासम्मको १७.५ किमी सडकमा ४५ मिनेट कायम रहने टाइम कार्ड लागू गरिएको छ।
जिल्लामा पहिलो पटक सडकमा टाइम कार्ड लागू गरिएपछि सवारी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्। ‘पहिलोपटक सडकमा टाइम कार्ड लागू भएको छ, यसको प्रभावकारितासँगै सभाखोला—खाँदबारीलगायत अन्य सडकहरुमा टाइम कार्ड लागू हुन्छ। सबैको साथ सहयोगको अपेक्षा गरेकी छु,’ प्रजिअ थपलियाले भनिन्, ‘टाइम कार्ड लागू गरेपछि अनियन्त्रित रुपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ।’
संखुवासभाको सदरमुकाम खाँदबारी र धरान–विराटनगर—काठमाडौं जोड्ने मुख्य सडक हो। उक्त सडकखण्डमा सवारी दुर्घटना दिनानुदिन बढ्दै गएपछि जिल्लामा पहिलो पटक टाइम कार्ड लागू गरिएको हो।
जिल्ला ट्राफिक कार्यालय संखुवासभाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ५२ जना र आव २०८१/०८२ मा ६७ जना सडक दुर्घटनामा परेका थिए। तीमध्ये केवा–सभाखोला सडकखण्डमा एकजनाको मृत्यु भएको छ।