अमेरिकास्थित टेक्सासमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था नेपाल समाज टेक्सास (एनएसटी)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका सामाजिक अभियन्ता जनक भण्डारीले प्रचारप्रसार तीव्र पारेका छन्। एनएसटीको निर्वाचन आगामी १३ डिसेम्बरमा हुँदै छ। संस्था सन् १९९८ मा अमेरिकी कानुनअनुसार दर्ता भएको हो।
२४ वर्षअघि अमेरिका पुगेका भण्डारी हाल एनएसटीका वरिष्ठ उपाध्यक्ष छन्। नेपाली समुदायको सेवामा पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धतासहित उनले चुनावी अभियान सुरुआत गरेका हुन्। ‘म अमेरिकामा रहेका नेपालीहरूको सेवामा पूर्ण रूपमा समर्पित छु,’ भण्डारीले भने।
उनले एक दर्जनभन्दा बढी सामाजिक संस्थामा विभिन्न जिम्मेवारी पूरा गरेका छन्। भण्डारी न्युयाेर्क लाइफ इन्सुरेन्स कम्पनीमा एजेन्टका रूपमा पनि कार्यरत छन्।
भण्डारीले निर्वाचनपूर्व आफ्ना प्रमुख प्रतिबद्धताहरू पनि सार्वजनिक गरेका छन्। जसमा अमेरिकी सरकारी निकायसँग समन्वय गरी सरकारी कागजात तथा सेवामा नेपाली भाषा प्रयोग सुनिश्चित गर्ने, विभिन्न नेपाली संघ–संस्थाबिच सहकार्य गरी ‘नेपाल फेस्टिभल’ आयोजना गर्ने, मातृभूमि कल्याणकारी कोष स्थापना गर्ने, आपतकालीन कोषलाई प्रभावकारी बनाउने, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कार्यक्रम सुदृढ गर्ने, समाजका योगदानकर्तालाई नियमित सम्मान गर्ने र युवामुखी विशेष कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम रहेका छन्।
उनले मत दिन आग्रह गर्दै भनेका छन्, ‘हामी सबै मिलेर अझ सक्षम, समृद्ध र सुरक्षित शान्त समाज निर्माण गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ। त्यसैले, तपाईंहरूको निरन्तर सहयोग, सुझाव र अमूल्य मतदानको अत्यधिक अपेक्षा राख्दै म यस अभियानलाई सफल बनाउन हार्दिक आह्वान गर्दछु।’
त्यसअघि उनले आफ्नो उम्मेदवारीबारे भनेका थिए, ‘तपाईंहरूको प्रेरणा र सहयोगका आधारमा पहिलो कार्यकालमा उपाध्यक्ष तथा दोस्राे कार्यकालमा वरिष्ठ उपाध्यक्षका रूपमा सेवा गर्ने अवसर पाएँ। यसपटक मेरो कार्यसमितिका साथीहरूलाई पूर्ण जानकारी गराई मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। मलाई विश्वास छ, तपाईंहरूको माया, सहयोग र बहुमूल्य मतले यसपालि पनि मलाई जिताएर पुनः सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ।’