सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त बचत खाताको प्रारम्भ गरेका हुन्।
सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लाटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैलीअनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने बैंकले जनाएको छ।
यस बचत खाताका विशेषताहरूमा न्यूनतम रु. १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान हुनेछ। साथै, युवाग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आश्वा कमिसन तथा सी–आश्वा रेजिस्ट्रेसनजस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ।
डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु. पाँच सयमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधासमेत राखेको छ। ग्राहकहरूले ट्राभल कार्ड इस्यु चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउनेछन्। यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुने बताइएको छ।