सिमरा खानेपानी उपभोक्ता समितिमा रास्वपाको प्यानल नै विजयी

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ठुला दलका उम्मेदवारलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ ।  ११ जनाको नयाँ कार्यसमितिका सम्पूर्ण पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी भएको हो । 

मंगलबार  बिहान सम्पन्न मतगणनामा अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरिप्रसाद सिम्खडा, सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल, कोषाध्यक्षमा रामकुमार अर्याल, महिला सदस्यहरूमा  दिलुमाया तमाङ, सुष्मा पण्डित र खुला सदस्यहरूमा कल्पनाकुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल, सूर्यसिंह क्षेत्री निर्वाचित भएका हुन्। यहाँ यसअघि सधैँ एमाले विजयी हुँदै आएको थियो।  

अध्यक्ष पदमा न्यौपानेले २०९ मतको अग्रतासहित जित हात पारे। उनले एक हजार ११६ मत प्राप्त गर्दा प्रमुख प्रतिस्पर्धी रहेका गुलाफको फूल चुनाव चिह्नका प्रकाश खुलालले ९०७ मत पाए। 
यसैगरी, चस्मा चुनाव चिह्नका पूर्णचन्द्र तिमिल्सिनाले ५९१, घर चुनाव चिह्नका शशी गौतमले २३३ र खुला किताब चुनाव चिह्नका राजकुमार भट्टराईले २१५ मत पाएको निर्वाचन समितिले जनाएको छ। 

उपाध्यक्ष पदमा चराका हरिप्रसाद सिंखडा सर्वाधिक एक हजार १८७ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी गुलाफको फूलकी मिठुमाया थिङले ७८४ मत पाइन्। चस्मा चुनाव चिह्नका झंकनाथ लामिछानेले ५९५ मत पाए। घर चुनाव चिह्नकी निर्मला केसीले २८९ मत पाइन्।  

सचिव पदमा चराका अमृत बस्याल एक हजार १७८ मतसहित विजयी भए। उनको प्रतिद्वन्द्वी गुलाफको फूलकी सरस्वती अधिकारीले ७५४, चस्माका लोकराज पौडेलले ५२५, खुला किताबका राजेन्द्रकुमार सुवेदीले २६१ र घरका मुस्तफा अन्सारीले २२५ मत पाए। 

सहसचिव पदमा चराका कृष्णकुमार रिमाल एक हजार १७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी गुलाफको फूलका कर्णबहादुर खड्काले ७५७, चस्माका होमप्रसाद रकालले ५७७ र घरका मुमनाथ शर्माले २६७ मत पाएका छन् । 

कोषाध्यक्ष पदमा रामकुमार अर्याल एक हजार १३५ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी सुशीला कार्कीले ७२२, राजुप्रसाद उपाध्यायले ५६८, खुला किताबका राजकुमार भट्टराईले २५९ र घरकी चम्पा पाख्रिनले २५१ मत पाएको निर्वाचन समितिले जनाएको छ।  

नयाँ नेतृत्व चयनका लागि मंसिर ६ गते निर्वाचन भएको थियो। निर्वाचनमा तीन हजार ३२० मत खसेको थियो।  
 

सुझावित समाचार