अमेरिका र चीनको प्रतिद्वन्द्विताको चपेटामा नाइजेरिया

नाइजेरियामा अमेरिका र चीनको गहिरो चासो छ । तथापि, दुवै शक्तिले नाइजेरियाको भन्दा आफ्नै हितलाई सर्वोत्तम प्राथमिकता दिन्छन् ।

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि इस्लामिक विद्रोहीहरूबाट क्रिस्चियनमाथि उत्पीडन भइरहेको भन्दै नाइजेरियाविरुद्ध सैन्य कारबाहीको धम्की दिए । लगत्तै चीनले ट्रम्पको धम्कीको विरोध जनायो । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले तीन साताअघि बोल्ने क्रममा नाइजेरियालाई चीनको बृहत्तर रणनीतिक साझेदार बताइन् ।

‘बृहत्तर रणनीतिक साझेदारको रूपमा चीन धर्म र मानव अधिकारलाई अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बहाना बनाउने कुराको विरोध गर्दछ । साथै, अन्य देशमाथि प्रतिबन्ध र बल प्रयोग गर्ने धम्कीको समेत हामी दृढतापूर्वक विरोध गर्दछौँ,’ निङले भनिन् । त्यही समयतिर नाइजेरियाका लागि चिनियाँ राजदूत यु दुनहाईले सामाजिक सञ्जाल एक्समा लेख्दै भने,’ आतंकवादविरुद्धको संघर्षमा र घरेलु स्थिरता कायम राख्न चीन नाइजेरियालाई निरन्तर समर्थन गर्न इच्छुक छ ।’ 

यस घटनामा अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश नाइजेरियालाई लिएर वासिंगटन र बेइजिङबिचको प्रतिस्पर्धा गहिरिँदै गएको उदांगियो । जनवरीमा राष्ट्रपतिको रूपमा ट्रम्प सत्तामा फर्किएदेखि वासिंगटन र बेइजिङबिच धेरै विषयमा तनाव बढेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबिच हालै भएको भेटघाटका बाबजुद दुई देशबिच विभिन्न मोर्चामा चलिरहेको तनाव अन्त्य हुने छाँटकाँट छैन । अहिले नाइजेरियाली  कतै दुई महाशक्तिको संघर्षको गोटी हुने हो कि भनेर चिन्तित छन् । 

चिनियाँ राष्ट्रपति जिनपिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबिच हालै भएको भेटघाटका बाबजुद दुई देशबिच विभिन्न मोर्चामा चलिरहेको तनाव अन्त्य हुने छाँटकाँट छैन । अहिले नाइजेरियाली कतै दुई महाशक्तिको संघर्षको गोटी भइने हो कि भनेर 
चिन्तित छन् ।
 

‘जारी विवादलाई चीनले आफूलाई गैरहस्तक्षेपकारी शक्ति देखाउने अवसरको रूपमा प्रयोग गर्दै छ । साथै, उसले अमेरिकालाई अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहने हेपाया देश देखाउन खोज्दै छ । अमेरिकी चरित्रको विपरीत आफूले अफ्रिकी देशको सार्वभौमिकताको सम्मान गर्ने र व्यापारमा केन्द्रित रहेको बेइजिङले दाबी गर्छ,’ नाइजेरियाभित्रको द्वन्द्वको अध्ययन गरिरहेका वासिंगटनस्थित हडसन इन्स्टिच्युटका गैरआवासीय फेलो जेम्स बार्नेटले भने । 

बार्नेटका अनुसार चीनको नीतिले काम गरेको छ । अहिले नाइजेरियाली सरकारले मात्र नभएर अन्य अफ्रिकी सरकारले समेत बेइजिङलाई उत्तम विकल्पको रूपमा हेर्न थालेको बार्नेटको ठम्याइ छ । खासमा अफ्रिकी देशहरूले वासिंगटनबाट हेपाहा व्यवहार महसुस गर्न थालेको ट्रम्पको आगमनपछि होइन, पहिलेदेखि नै हो । तर ट्रम्प विगतको भन्दा अगाडि गएको तिनको ठम्याइ छ । जुन कुरा एउटा समुदायमाथिको दमनलाई देखाएर नाइजेरियामाथि सैन्य कारबाहीको धम्कीमै देखिएको बार्नेटले बताए । अहिले नै अमेरिकी सेना नाइजेरियामा नउत्रिएलान्, तर ड्रोन आक्रमण वा अमेरिकी सेनाको विशेष अपरेसनको ‘जोखिममुक्त परिदृश्य’ कायम रहेको बार्नेटले बताए । 

जोहान्सबर्ग विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी इमेका उमेजईका ठम्याइमा नाइजेरियामा अमेरिका र चीनको गहिरो चासो छ । तथापि, दुवै शक्तिले नाइजेरियाको भन्दा आफ्नै हितलाई सर्वोत्तम प्राथमिकता दिन्छन् । ‘यो केवल भूराजनीतिक प्रतिद्वन्द्विता हो । चीन आफ्नो आर्थिक हित सुरक्षित गर्न लडिरहेको छ । त्यसैले उसले सरकारअनुकूलको अडान लिइरहेको हुन सक्छ । तथ्यांक हेर्ने हो भने चीनले अमेरिकाले भन्दा बढी नाइजेरियाबाट रकम लगिरहेको छ,’ इमेकाले भने ।

नाइजेरियामा जन्मेका स्वतन्त्र पत्रकार प्याट्रिक हाल टोरोन्टोमा मिडिया अनुसन्धानकर्ता छन् ।
 

नाइजेरियाको राष्ट्रिय तथ्यांक ब्युरोको तथ्यांकअनुसार चीन नाइजेरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । दुई देशबिचको व्यापार अहिले २१.९ अर्ब डलर पुगेको छ, जुन सम्पूर्ण अफ्रिकासँग चीनको कुल व्यापारको झन्डै ८ प्रतिशत हो । चीनले नाइजेरियासँग सुन, तामा र लिथियमको अन्वेषण र खानी सम्झौता गरेको छ । त्यस्तै, बेइजिङ नाइजेरियाभित्र काठको व्यापारमा पनि व्यापक संलग्न छ । नाइजेरियाली स्रोतमाथि बेइजिङको उच्च चासोबारे जानकार नाइजेरियाली अधिकारी अमेरिका यसमा ठुलो हिस्सा खोज्न प्रतिस्पर्धामा उत्रेला भनेर चिन्तित छन् । 

‘चिनिया खानी सञ्चालकप्रति नाइजेरियालीको निराशा बढ्दै गएको देखिन्छ । चिनियाँहरूले खराब अवस्थामा खानी सञ्चालन गरिरहेको र स्थानीय श्रमिकको शोषण गरेको तिनको गुनासो हुन्छ । अझ, असन्तोष दबाउन उनीहरू भ्रष्ट राजनीतिज्ञ र सशस्त्र समूहहरूसँग समेत मिलेर काम गर्ने गरेको देखिन्छन् । यसले गर्दा असुरक्षा बढ्दै गएको छ,’ बार्नेटले भने । 

नाइजेरियाको एक तप्कामा इसाईहरूको दमन भएको ट्रम्पको टिप्पणीप्रति सहमति देखिन्छ । नाइजेरियामा कैयौँ सशस्त्र समूह सक्रिय छन् । आमनागरिक बोकोहरामदेखि स्थानीय रूपमा सक्रिय आपराधिक गिरोहसम्मको आक्रमणमा परिरहन्छन् । त्यसबाहेक फुलानी जातिका सशस्त्र गोठालादेखि मुख्यतः मुस्लिम घुमन्ते समूहको पनि आक्रमण बढिरहेको छ । नाइजेरियामा क्रिस्चियन मुख्यतः दक्षिणी भेगमा र मुस्लिम उत्तरी भेगमा बसोवास गर्छन् । क्रिस्चियनहरू धेरैजसो सशस्त्र समूहको निसाना पर्ने गरेको तथ्यांकले देखाउँछ । एक रिपोर्टअनुसार सन् २०२५ मा मात्र ३,१०० जना क्रिस्चियनहरूलाई मारिएको र २,८३० अपहरण परेको तथ्यांकले देखाउँछ । तथापि, मुस्लिम लडाकुहरूको निसानामा सधर्मी मुस्लिम पनि परेका छन् । 

सेप्टेम्बरमा, अमेरिकी सिनेटर टेड क्रुजले सिनेटमा ‘नाइजेरिया रिलिजस फ्रिडम एकाउन्टिब्ली एक्ट’ नामक विधेयक पेस गरेका थिए । विधेयकले इसाईहरूको हत्याका लागि जिम्मेवार अधिकारीमाथि गम्भीर प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । अक्टोबरमा, अमेरिकी विदेश मन्त्रालयले नाइजेरियालाई ‘कन्ट्री अफ पार्टिकुलर कन्सर्न (विशेष चिन्ताजनक देश)’ तोकेको थियो । यसअघि ट्रम्पको पहिलो कार्यकालमा पनि सन् २०२० मा अमेरिकाले नाइजेरियालाई यस वर्गीकरणमा राखेको थियो । अमेरिकी सरकारले ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन’ मा संलग्न ठानेका देशहरूलाई यस वर्गीकरणमा राख्छ । यसमा नाइजेरियासँगै चीन, उत्तर कोरिया र रुस छन् । 

युनिभर्सिटी अफ नोट्रे डेम–इन्डियानाकामा राजनीतिक–धर्मशास्त्रमा पिएचडी गरिरहेका नाइजेरियाली क्याथोलिक पादरी इमानुएल ओजेइफो ठम्याइमा पनि विश्वमा नाइजेरियाको स्तरमा कमै देशमा क्रिस्चियन मारिइरहेका छन् । ‘यदि ट्रम्पकै कारणले नाइजेरियाको अवस्थामाथि प्रकाश परेको भए पनि जायज नै मान्न सकिन्छ,’ ओजेइफोले भने । ट्रम्पले खासमा नाइजेरियाली सरकारलाई आफ्ना नागरिकको धार्मिक स्वतन्त्रताको संरक्षण गर्नुपर्ने संवैधानिक जिम्मेवारीबारे जगाउन खोजेको ओजेइफोको बुझाइ छ । 

अमेरिका–चीन प्रतिद्वन्द्वितामा नाइजेरियाले आफ्नो हितलाई पहिलो प्राथमिकता दिनुपर्ने, जोहानेसबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ता इमेजईले बताउँछन् । ‘जबसम्म नाइजेरियाले आफ्नो प्राथमिकता ख्याल गर्दैन, ऊ विश्वव्यापी शक्ति प्रतिस्पर्धाको गोटी बन्ने सम्भावना रहन्छ ,’ उनले भने ।
फरेन पोलिसीबाट

सुझावित समाचार