बागमती प्रदेशमा आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासिकमा एक हजार आठ सय २९ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका अनुसार अधिकांश उद्योगहरू काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेमा केन्द्रित रहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी सुनील बञ्जाराका अनुसार यस अवधिमा काठमाडौं जिल्लामा सर्वाधिक ६ सय ७२ वटा उद्योग दर्ता भएका छन् । काठमाडौंपछि नुवाकोटमा धेरै उद्योगहरू दर्ता भएका छन् । उनले नुवाकोटमा मात्रै दुई सय २८ नयाँ उद्योग दर्ता भएको जानकारी दिए । यस्तै, प्रदेशको राजधानी हेटौँडा रहेको मकवानपुरमा एक सय २३ वटा उद्योग दर्ता भएका छन् भने काभ्रेमा दुई सय १०, ललितपुरमा एक सय ६९ र भक्तपुरमा ९४ उद्योग दर्ता भएका छन् ।
यसैगरी चितवनमा ८९, सिन्धुलीमा ५७, रामेछापमा ३२, दोलखामा ३९, सिन्धुपाल्चोकमा २७, रसुवामा १२, नुवाकोटमा दुई सय २८ र धादिङमा ७६ उद्योग पछिल्ला तीन महिनामा दर्ता भएका सूचना अधिकारी बञ्जाराले जानकारी दिए । मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ को प्रथम त्रैमासिकमा वाणिज्यतर्फ मात्रै कुल आठ सय ३८ वटा उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा दुई सय ६६ वटा उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम रसुवामा पाँचवटा दर्ता भएका छन् ।
यस्तै मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट र दोलखामा क्रमशः एक सय नौ, ४०, ६१, एक सय दुई, ९७, ५२, १६, १०, २० र ४६ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
सात करोड २३ लाख ७० हजार राजस्व संकलन
बागमतीमा चालू आर्थिक वर्षको ०८२/८३ को तीन महिनाको अवधिमा नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट कुल सात करोड २३ लाख ७० हजार राजस्व संकलन भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमतीका अधिकृत रमेश पौडेलले जानकारी दिए । जसमा सबैभन्दा धेरै काठमाडौंका उद्योगहरूबाट दुई करोड ५७ लाख ५० हजार १२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, मकवानपुरमा ५८ लाख ५५ हजार एक सय २५, चितवनमा ८४ लाख ३४ हजार सात सय ७५, ललितपुरमा ७७ लाख २३ हजार नौ सय ६९, काभ्रेमा ६० लाख ५६ हजार नौ सय, भक्तपुरमा ३९ लाख ९८ हजार एक सय ५५, नुवाकोटमा ३४ लाख ९६ हजार ४ सय २५, धादिङमा ३० लाख १३ हजार ४१, सिन्धुलीमा १८ लाख ९० हजार २१० रुपैयाँ राजस्व संकलन भएको हो ।
त्यस्तै, सिन्धुपाल्चोकमा १७ लाख ६७ हजार चार सय २५, दोलखामा १६ लाख ३७ हजार आठ सय २५, रामेछापमा १२ लाख ४६ हजार ६ सय ५०, दोलखामा १६ लाख ३७ हजार आठ सय २५ र रसुवामा चार लाख ८४ हजार ३७ रुपैयाँ राजस्व संकलन भएको पौडेलले जानकारी दिनुभयो । यस अवधिमा उद्योग तथा वाणिज्यबाट भएको बजार अनुगमनबाट नियमविपरीत सञ्चालन भएका उद्योग तथा फर्मलाई कुल १२ लाख १३ हजार जरिवाना लगाइएको छ ।
प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा कपडाका सामान, जीवजन्तुको आहार, छालाका जुत्ता, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, गलैँचा, पश्मिना, फेल्टका सजावटका सामान, चाउचाउ, पेय पदार्थ, बिस्कुट, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्छन् ।
बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले पनि देखाएको छ । अघिल्लो साता मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक वर्ष ०८१/८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार ०८१ साउनदेखि ०८२ को अन्तिमसम्मको अवधिमा प्रदेशमा उद्योग दर्ता, राजस्व संकलनलगायत अन्य औद्योगिक गतिविधि सकारात्मक देखिएको हो । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँबराबरको पुँजी प्रस्ताव गरेका छन् भने २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।