कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसियसनलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ।
कर्णाली याक्सले दोस्रो संस्करणको एनपिएलको लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ। कर्णाली याक्सले जितेको हरेक खेलमा एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेटको विकासको लागि एक लाख रुपैयाँ दिने सम्झौता भएको थियो।
आइतबार एसियन पेन्ट्सले एक कार्यक्रमबिच कर्णाली प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई पूर्वघोषित एक लाख रुपैयाँ उपलब्ध गराएको हो। कर्णाली याक्स स्पोर्ट्स प्रालीका निर्देशक गृहेन्द्र घिमिरेको रोहबरमा एसियन पेन्ट्सका नेसनल सेल्स, एक्टिभेसन एण्ड मार्केटिङ म्यानेजर दिपक बरालले कर्णाली क्रिकेट एसोसियसनका सचिव श्रीधर केसीलाई उक्त रकमबराबरको चेक उपलब्ध गराए।
कर्णाली याक्सले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो। स्कटिस खेलाडी मार्क वाटले शतक बनाएपछि कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो।
पूर्वघोषित पुरस्कार पाएपछि कर्णाली क्रिकेटका सचिव तथा क्यानको केन्द्रीय सदस्य श्रीधर केसीले यो रकम कर्णाली क्रिकेटको ग्रासरुटमा प्रयोग गर्ने बताए। ‘कर्णाली याक्स र एसियन पेन्ट्सबाट भएको सम्झौताले निकै खुसी मिलेको छ। यो रकम हामी ग्रासरुट क्रिकेट र कर्णालीको क्रिकेट विकासमा प्रयोग गर्नेछौं।’
निर्देशक गृहेन्द्र घिमिरेले एसियन पेन्ट्सलाई धन्यवाद दिए। उनले कर्णाली प्रदेशको क्रिकेट विकास र समग्र नेपाली क्रिकेटको विकासमा कर्णाली याक्स प्रतिवद्ध रहेको धारणा राखे। ‘यस्तै साना साना सहयोगले नेपाली क्रिकेटको विकास हुन्छ। हाम्रो सानो सहयोगले प्रदेश क्रिकेटको ग्रासरुटमा राम्रो होस् भन्ने चाहना छ,’ उनले भने।
कर्णाली याक्समा प्रदेशका पाँच खेलाडी छन्। विपिन शर्मा, युनिस विक्रम ठकुरी, दीपेन्द्र रावत, अर्जुन घर्ती र मनिष थापाले दोस्रो एनपिएल खेलिरहेका छन्। मनिष यसपटक ट्यालेन्ट हन्टबाट टिममा जोडिएका हुन्। विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट उदाएका खेलाडी हुन्। कर्णाली याक्सले पहिलो संस्करणको अक्सनबाटै युनिस, दीपेन्द्र र अर्जुनलाई अनुबन्ध गरेको थियो।