२५ वर्षअघि द्वन्द्वकालमा बेपत्ता भएका चौधरीको अन्तिम संस्कार

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

द्वन्द्वकालमा राज्य पक्षले बेपत्ता पारेको बर्दियाको बारबर्दिया नगरपालिका– ११, बेलभारका चैतेलाल चौधरीको काजकिरिया गरिएको छ। बेपत्ताको अवस्था सार्वजनिक नभएपछि शान्ति सम्झौताको दुई दशक पुगेको दिन शुक्रबार चौधरीको अन्तिम संस्कार गरिएको हो। उनकी श्रीमती सीताजानकी चौधरीको काजकिरिया ८ मंसिरमा गर्ने परिवारले जनाएको छ। चौधरीदम्पतीलाई राज्य पक्षले करिब २५ वर्ष अघि बारबर्दिया– ५, जब्दहवाबाट बेपत्ता पारेको थियो।

फुपूको घरबाट साइकलमा घर फर्कँदै गर्दा जब्दहवा गाउँबाट तत्कालीन नेपाली सेनाको टोलीले उनीहरूलाई ०५८ पुस ५ गते पक्राउ गरी बेपत्ता बनाएको चैतेलालका भाइ भागीरामले बताए।

‘अहिलेसम्म पनि दाइभाउजूको अवस्था सार्वजनिक हुन नसकेपछि सामाजिक र सांस्कृतिक दबाब, राजनीतिक अस्थिरतका कारण पनि धागोको शव बनाएर अन्तिम संस्कार गरिएको हो,’ उनले भने, ‘दाइभाउजूको दाहसंस्कार थारू संस्कृतिअनुसार गरेका छौँ। काजकिरिया गरे पनि राज्यले छिटो बेपत्ता दाइभाउजूको अवस्था सार्वजनिक गरिदियोस् भन्ने चाहना छ।’

विस्तृत शान्ति सम्झौता ०६३ मंसिर ५ गते थियो । शान्ति सम्झौतामा बेपत्ताहरूको अवस्था ६ महिनाभित्र सार्वजनिक गर्ने सहमति भएको थियो। तर, शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत राज्यले बेपत्ताको अवस्था सार्वजनिक गर्न चाहेको छैन। द्वन्द्वकालका राज्य र माओवादी पक्षबाट गरी बर्दियाबाट २५४ जना बेपत्ता पारिएका थिए।
 

सुझावित समाचार