‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा हिजाे शनिबार आयोजित गरिमा राेडरेस सफलतापूर्वक सम्पन्न भएको छ ।
१८औँ वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा राेडरेस प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुलातर्फको १० किलाेमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाडाैंबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ नगरपालिका– ३ को कार्यालयअगाडि पुगी पुनः सोही मार्ग बालुवाटार, काठमाडाैं आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कर्पोरेट तथा भेट्रान तर्फको पाँच किलाेमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाडाैंबाट सुरु भई नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारीअगाडि पुगी पुनः बालुवाटार आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कुल एक हजारभन्दा बढी धावकहरूको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा महिलातर्फ १० किलाेमिटरको दूरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुषतर्फ १० किलाेमिटरको दूरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले प्रथम स्थान हासिल गरे। यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरूले खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार जित्न सफल भए ।
प्रतियोगितामा प्रथम, दोस्राे, तेस्राे, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई खुलातर्फ क्रमशः रु. ५०,०००, रु. ३५,०००, रु. २०,०००, रु. १५,००० र रु. १०,००० नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, कर्पोरेट र भेट्रानतर्फ पाँच किलाेमिटर विधामा प्रथम, दोस्राे, तेस्राे, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः रु. ३०,०००, रु. २०,०००, रु. १४,०००, रु. १०,००० र रु. सात हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विकास बैंकका सञ्चालकहरू, पूर्वसञ्चालकहरू, सेयरधनी महानुभावहरू, विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तित्वहरू, स्थानिय निकायका प्रतिनिधिहरू, पत्रकारहरू, कर्मचारीहरूलगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवसाद उपाध्यायले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो भन्दै आगामी वर्षहरूमा यसप्रकारका कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्ने बताए ।
साथै, ०८२ मंसिर ७ गते, आइतबार विकास बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरिएको व्यहोरासमेत जानकारी गराउन चाहन्छौँ ।