सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबिच बालुवाटारमा वार्ता

७ मंसिरबाट घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच आज बालुवाटारमा वार्ता भएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा छलफल भएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

महाभियानले ७ मंसिरबाट घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ । महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई समेत थिए ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो। वार्ता प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको हो । अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।

सुझावित समाचार