सम्झौता मितिभन्दा एक वर्षअघि नै बन्यो बुँवाखोला पक्की पुल

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा पक्की पुल निर्माण सम्पन्न सम्झौता मितिभन्दा एक वर्षअघि नै बनेको छ । पुल निर्माण भई सञ्चालनमा आएसँगै खोटाङका दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका जिल्लाहरू आवतजावतमा सहज भएको छ ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुलसमेत हो।

जन्तेढुंगा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराबिचमा रहेको बुँवाखोलामा पक्की पुल निर्धारित समयभन्दा पहिलै सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन्। पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा परिवर्तन आउने अपेक्षा गरिएको छ।

बुँवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजात गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुंगा गाउँपालिकाका वीरबल किराँतीले बताए । किराँतीका अनुसार पुल बनेपछि उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दूरीमै पुग्न सकिनेछ। 

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग ३० वैशाख ०८१ मा भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम मिति २१ कात्तिक ०८३ सम्म तोकिएको थियो । तर, निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुँवाखोलामा पुल यसअघि नै निर्माण पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिएका छन्। 
 

सुझावित समाचार