मुग्लिङ–पोखरा सडकको पश्चिम खण्ड सुधार हुँदै

पोखराको विजयपुरमा ११ मंसिरसम्म दैनिक चार घण्टा बाटो पूर्ण/आंशिक बन्द हुने

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

स्तरोन्नतिको हुँदै गरेको मुग्लिङ–पोखरा सडक सुधार आयोजनाअन्तर्गत पश्चिम खण्डमा ११ मंसिरसम्म दैनिक चार घण्टा बाटो पूर्ण-आंशिक बन्द हुने भएको छ।

आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पोखरा–२६, विजयपुरस्थित खेलामा निर्माण हुँदै गरेको दुई लेनको पुलमा गर्डरहरू राख्ने कामका लागि ६ देखि ११ मंसिरसम्म दैनिक चार घण्टा सडक पूर्ण/आंशिक बन्द हुने भएको हो। 

शनिबारदेखि दैनिक बिहान दुई र दिउँसो दुई घण्टा पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारीसाधनलाई पूर्ण-आंशिक रूपमा बन्द गरी निर्माण गर्नुपर्ने भएको कुँवरले बताए।

बन्द हुने मिति र समय
सडक शनिबार अर्थात् ६ मंसिरदेखि ११ मंसिरसम्म दैनिक बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म पूर्ण-आंशिक रूपमा बन्द (अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका सवारी साधनलाई क्लियर गर्न सकिने) गरी निर्माण गरिने भएको हो।     

यस्ता छन् वैकल्पिक रुटहरू
पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रूट हुँदै आउने सवारीसाधनलाई सो समय वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । जसका लागि दुईपांग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढीबजार चोकबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न आयोजनाले भनेको छ।

ठुला सवारीसाधनका लागि पावरहाउस चोकदेखि बौमारा हुँदै बिरौटा जान आउन सकिने भएकाले सोहीअनुसार गर्न आयोजनाले सरोकारवाला सबैमा अनुरोध गरेको छ।
 

सुझावित समाचार