इँटाभट्टादेखि विश्व च्याम्पियनसिपसम्म

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण
  • एसियन गेम्ससम्म पुग्ने लक्ष्य बनाएकी कराँते खेलाडी सानुमायाले विश्व च्याम्पियनसिप नै खेल्ने भएकी छिन्

सानुमाया थिङ, अब यो नाम धेरैका लागि नौलो रहेन । इजिप्टको कायरोमा मंसिर ११ देखि १४ गतेसम्म हुने विश्व कराँते च्याम्पियनसिपमा सानुमायाले प्रतिस्पर्धा गर्ने भएपछि यो नाम धेरैको जानकारीमा आयो । उनी सहितको टिम भोली(आइतबार) इजिप्ट जाँदैछन् । विश्व च्याम्पियनसिपमा उत्कृष्ट नतिजा ल्याउने दृढतासहित अहिले उनी दैनिक पाँच घण्टा प्रशिक्षण गरिरहेकी छिन् । उनलाई राष्ट्रिय टोलीका काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् । गुमनाम सानुमायाको विश्व च्याम्यिपनसिपको यात्रा कसरी तय भयो ? विश्व च्याम्पियनसिपसम्म पुग्न उनको मिहिनेत कति छ ? भविष्य छैन भनिएको खेलकुदमा सानुमाया टिक्लिन् ? यही जिज्ञासाले सानुमायाले प्रशिक्षण गरिरहेको दशरथ रंगशालास्थित सितोरियो कराँते डोजोमा पुर्यायो ।

बिहानैैदेखि प्रशिक्षण गरिरहेकी सानुमायाको जोश बिहान १० बजे भेट्दा पनि उस्तै थियो । सेतो गी (पोसाक)मा प्रशिक्षण गरिरहेकी उनलाई भेट्नेबित्तिकै सोध्यौँ, ‘तयारी कस्तो हुँदै छ ?’

उनले भनिन्,‘३२ जना उत्कृष्टसँग प्रतिप्रस्र्धा गर्नु चानचुने होइन । आफूले सिकेको कुरा दुई मिनेटमा रिङमा देखाउने हो । दुई मिनेटमा जे हुनेछ, राम्रै हुनेछ । नेपालले नै गौरव मानेको यो क्षण सम्झनलायक बनाउँछु ।,’

जोश, ऊर्जाले भरिएकी सानुमाया, जो विश्व च्याम्यिनसिपमा नेपाल र कराँतेलाई अविस्मरणीय बनाउन रातदिन मिहिनेत गरिरहेकी छिन् । उनले यहाँसम्म पुग्न भने निकै कठिन यात्रा पार गरेकी छिन् ।

हेटौँडामा जन्मिएकी सानुमाया दुई वर्षको हुँदा बुबा र आमासँगै काठमाडौं आइन् । उनको बुबाआमाले काठमाडौैंसम्मको यात्रा जीवन सुखद बनाउने भन्दै सुरु गरेका थिए । तर, उनको बुबाआमाले सोचेजस्तो सहर थिएन, काठमाडौं । त्यसैले उनीहरूको यात्रा इँटाभट्टातर्फ मोडियो । 

बुबाआमासँगै सानुमायाको पनि गन्तव्य भयो, सतुंगलको इँटाभट्टा । उनका कलिला हात, जतिवेला माटोसँग खेल्न मात्र सक्थे, त्यतिवेला घर सम्हालिन् । जब उनी माटोलाई आकार दिन पनि सक्ने भइन्, त्यसपछि भने इँटाभट्टाको बाल मजदुरमा परिणत भइन् । राति दुई बजे नै बुबाआमासँगै उठ्नु, इँटा बनाउनु, बिहान नौ बजे हतार–हतार डेरामा आएर केही पाकेको छ भने खानु, छैन भने भोकै स्कुल कुद्नु अनि फेरि साँझ चार बजे इँटाभट्टामै पुग्नु उनको दैनिकी थियो । 

...अनि कराँते 
सानुमाया इँटा बनाउने सिजनमा भट्टाको मजदुर बनिन् । इँटा बनाउने सिजन नहुँदा कहिले वरपरका मान्छेका खेतमा काम गरिन् । कहिले ज्यामी काम गरिन् । इँटाभट्टामा काम गर्ने, त्यहीँ बस्ने, सानुमायालाई धेरैले हेलोहोचो गर्थे । दिनहरू बित्दै थिए, इँटाभट्टामै दिन गुजारीरहेकी सानुमाया पढ्ने भैरवनाथ आधारभूत विद्यालयमा कराँते प्रशिक्षण सुरु हुने भयो । जीवनमा कहिल्यै नसुनेको कराँते अनि कहिल्यै नदेखेको सेतो लुगा लगाएर प्रशिक्षण लिन सानुमायालाई पनि रहर जाग्यो । जीवनमा कहिल्यै रहर पूरा गर्न नसकेकी सानुमायाको लागि त्यो रहरको बाधक परिवार बन्ने भयो । बुबाआमाले एकै स्वरमा प्रशिक्षण लिनुपर्दैन भने । ‘किन खेल्न जानुपर्यो । काम नै गर भन्नुहुन्थ्यो । पैसा नआउने के काम भन्नुहुन्थ्यो,’ सानुमायाले भनिन् । 

सधैँ अभावमा हुर्किएको उनको परिवारलाई लगनशील भएर छोरीले पनि काम सघाए दुई पैसा धेरै आउँथ्यो । तैपनि सानुमायाले कराँते प्रशिक्षण लिने मौका गुमाउन चाहिनन् । परिवारको अनुमतिविना सात कक्षामा पढ्दै गरेकी सानुमायाले आफ्नो मनलाई सुनिन् । अनि नियमित प्रशिक्षण लिन थालिन् । दिउँसो चार बजेपछि हुने प्रशिक्षणमा सधैँ झुटको सहारा लिएरै सहभागी हुन थालिन् । ‘स्कुल सक्नेबित्तिकै टे«निङमा जान्थेँ । घर आयो भने जान दिँदैनथे,’ सानुमायाले भनिन्, ‘ट्युसन छ भनेर झुट बोल्थेँ । नत्र ममीले गाली गर्नुहुन्थ्यो ।’

सुरुवाती दिनदेखि नै उनको परिवार सानुमायाको खेलको विपक्षमा थियो । तैपनि प्रशिक्षण लिन थालेको तीन महिनामै भएको प्रथम धनबहादुर स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो भइन् । त्यसपछि स्कुलनजिकै सुरु भएको धनबहादुर स्पोर्टस् एकेडेमीमै गएर प्रशिक्षण लिन थालिन् । त्यहाँ पहिलो, दोस्रो, तेस्रो हुँदा पुरस्कार पाउन थालिन् । पुरस्कार नै पाउन थालेपछि उनलाई अब कसै गरी खेल छोड्न मन लागेन । 

हुर्केकी, काम सघाउन सक्ने भएकी, घरकी अर्की छोरी सम्हाल्न सक्ने भएकी छोरीलाई बुबाआमाले पनि कसै गरी छोड्नेवाला थिएन । इँटा बनाउने सिजनमा त झनै सानुमायालाई दायाँबायाँ गर्न दिँदैनथे । त्यसैले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटमा समेत उनलाई बुबाआमाले कसै गरी पठाउन चाहेनन् । किनभने त्यतिवेला इँटा बनाउने सिजन सुरु भएको थियो । ‘ममीले सीधै नजा भन्थे । दिदीको सानैमा बिहे भएको र बहिनी सानो भएकाले घरको काम सघाउनका लागि भए पनि मेरो आवश्यकता थियो । काम गर्ने सिजनकै वेला सातौँ राष्ट्रिय खेलकुदका लागि छनोट हुने भयो । तर, ममीले काम गर्ने वेला जान पर्दैन भन्नुभयो । त्यसपछि गुरु संघरत्न महर्जन घरमै आएर सबै खर्चको व्यवस्था गरेर लैजानुभयो । त्यो खेलमा म छनोट पनि भएँ,’ उनले भनिन् । 

सानुमाया जसोतसो अगाडि बढिरहिन् । विद्यालय शिक्षा पूरा गरिन् । ११ कक्षा भर्ना हुनेबित्तिकै सेनामा भर्ना भइन् । त्यसपछि नेपाली सेनाबाटै कराँते खेल्न थालिन् । ‘मैले जानेको भनेको यही कराँते हो । त्यसैले यसमै केही गर्छु भन्ने लाग्यो । बिस्तारै मैले राष्ट्रियस्तरका खेल खेल्न थालेँ,’ उनले भनिन् । सेनाबाटै विभिन्न प्रतियोगिता खेलिन् । कुमुते विधा छाडेर उनी काता विधामा खेल्न थालिन् । 

सानुमायाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक, नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पारेकी छिन् । योबाहेक श्रीलंका, भारतमा भएका अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा समेत उनले स्वर्ण पदक ल्याएकी छिन् ।

गत ९ देखि ११ जेठसम्म उज्वेकिस्तानको तासकन्दमा भएको २१औँ एकेएफ एसियन सिनियर कराँते च्याम्पियनसिपमा भएको प्रदर्शनका आधारमा विश्व च्याम्यिनसिपमा छनोट भइन् । उनले कहिल्यै नसोचेको सफलता हात पारिन् । एसियन गेमसम्म पुग्ने लक्ष्य बनाएकी सानुमाया विश्व च्याम्पियनसिप नै खेल्ने भइन् । ‘उज्वेकिस्तान पुगेपछि म नआउनु यहाँसम्म आएँ केही गर्छु भन्ने भयो । मलाई म मात्र होइन, मेरो देश पनि चिनाउनुपर्छ भन्ने भयो । कन्फिडेन्ट भएर प्रतिस्पर्धामा उत्रिएँ । जसले गर्दा आज म वल्र्ड च्याम्पियनसिप खेल्न जाँदै छु,’ सानुमायाले भनिन् । सोही प्रदर्शनका आधारमा उनी विश्वका ९४औँ खेलाडीमा गनिएकी छिन् । यही खेलपछि उनी केही मान्छेको नजरमा परिन् । यो खेलभन्दा अघि उनी धनबहादुर स्पोर्टस् एकेडेमी, आफन्त र ब्यारेकमा मात्र सीमित थिइन् ।

छोडिन् इँटाभट्टा
जीवनको ऊर्जावान् दुई दशक उनले इँटाभट्टामै बिताइन् । त्यहीँ खाइन्, खेलिन्, हुर्किइन् र काम गरिन् । इँटाभट्टामै हुर्किएकाले उनमाथि नराम्रो दृष्टिले हेरिन्थ्यो । जागिरे जीवन सुरु भए पनि उनले इँटा बनाउन सजिलो हुने पन्जालगायत सामान आमाबुबालाई लगिदिन्थिन् । तर, उनलाई मान्छेले हेर्ने दृष्टिकोण फेरिएन । इँटाभट्टामा काम गरेकै आधारमा उनलाई ‘पाखे’ शब्द प्रयोग गर्थे । ‘त्यो ठाउँबाट आएको भन्दा यस्तो खान लाउन नै नपुग्ने ठाउँबाट आएको पाखे भन्थे,’ उनले भनिन्,‘त्यहाँका मान्छे ढुंगा फुटाउने नै गरी दु:ख गर्छन् । तर, खानलाउन जहिल्यै अभाव हुन्छ । त्यसैले सबैलाई हामी यस्तो ठाउँबाट आएको भन्न गाह्रो छ ।’ यही कारण उनले अहिले त्यहाँबाट आफ्नो बुबाआमालाई पनि निकालेकी छिन् । करिब तीन महिनादेखि उनका आमाबुबा टनेल बनाएर खेती गर्छन् । टनेलनजिकै सानो कच्ची घर बनाएका छन् । टनेलबाहेकको समय उनको बुबा डकर्मीको काम गर्छन् ।

सानुमायाका लागि संतुगलको त्यो इँटाभट्टा जीवनको एउटा विश्वविद्यालय हो, जहाँबाट जीवनका धेरै मूल्यवान् कुरा सिकिन् । त्यसैले त्यो इँटाभट्टा र छेउछाउसँग अगाध प्रेम छ । तिता अनुभवको सँगालो नै किन नहोऊन् उनलाई ती पल भुल्न मन छैन । अहिले पनि त्यहाँ रहेका केही आफन्त भेट्न जाँदा नोस्टाल्जिक हुन्छिन् । ‘अहिले सम्झिँदा अहो ! हामी यस्तो ठाउँमा हुर्केको भन्ने लाग्छ । मलाई ती दिनहरू याद आउँछ । त्यो ठाउँको धेरै माया लाग्छ,’ उनले भनिन् । उनको यो सफलतालाई देखेर उनलाई छिमेकी, आफन्तले स्याबासी दिन्छन् । ‘मेरा केही आफन्तले तैँले गरेर देखाइस् । छोरीमान्छे भनेर पनि यस्तो गरिस् भनेर रुनु पनि हुन्छ । स्याबासी दिनुहुन्छ,’ उनले भनिन् । 

छोरी विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागिसकिन् । तर, उनको बुबाआमालाई अझै पनि उनले पाएको सफलताको महत्वबारे पत्तो छैन । पछिल्ला समय विभिन्न पत्रपत्रिका, टिभी, अनलाइनमा आएका समाचारबारे पनि जानकारी छैन । तर मिहिनेत, लगनशील र धैर्यलाई आत्मसात् गर्दै उनी विश्वलाई नेपाल चिनाउन जाँदै छिन् । कराँतेमै केही गर्ने आँट गर्दै छिन् । ‘मलाई जसले यहाँसम्म ल्याउन सहयोग गर्नुभयो, सबैलाई धन्यवाद भन्न चाहन्छु । वल्र्ड च्याम्पियनसिपमा आफ्नो बेस्ट दिनेछु,’ उनले भनिन्, ‘कराँतेले मलाई यहाँसम्म ल्याएको छ । त्यसैले म यसमै रहिरहन्छु । मिहिनेत गरिरहन्छु ।’

सुझावित समाचार