१४ वर्षसम्म पनि निर्माण नभएको कमला पुल निरीक्षणको प्रतिस्पर्धा : तीन तत्कालीन प्रधानमन्त्रीसहित आठ मन्त्री पुगे कमला पुल, कुलमान पनि निरीक्षणमा

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा पक्की पुल निर्माण थालेको १४ वर्षसम्म बितिसक्दा पनि ८३ प्रतिशत मात्र काम भएको छ । तर, कमला पुल निरीक्षणको प्रतिस्पर्धा भने चलेको छ । तत्कालीन तीन प्रधानमन्त्रीले पाँचपटक र सात मन्त्रीहरूले आठपटक गरी १३ पटक पुल अनुगमन गरिसकेका छन् । शुक्रबार मात्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता पुल निरीक्षणमा पुगे । तर, पुल हेर्न पुगेका हरेक प्रधानमन्त्री, मन्त्रीले ‘छिट्टै पुल निर्माण हुने’ आश्वासन दिए पनि पूरा हुन सकेको छैन ।

शुक्रबार मन्त्री घिसिङ आउने सूचना पाएपछि कमला पुल निर्माणस्थल पुगेका सिराहा नगरपालिका– ६ बसबिट्टा गाउँका ७० वर्षीय गंगा साहले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्री, मन्त्रीहरू आएर फोटो खिचाएर गए, तर पुल बनेन । सास्ती भोगिरहेका छौँ ।’

पुलको निरीक्षणपछि घिसिङले पनि कैयौँपल्ट मन्त्रीहरू आएर फर्किएको भन्ने सुनेको र त्यसमा आफू पनि थपिएको बताए । निर्वाचन गराउने जिम्मेवारीमा रहेको अहिलेको सरकार तीन–चार महिना मात्र रहने भएकाले त्यस अवधिमा पुल बन्न नसक्ने भए पनि पुलको विषयमा गम्भीर रूपले छलफल गरी प्राविधिक, व्यवस्थापकीय र ठेकेदार कसको कारणले समस्या भएको भन्ने खोजी गरिने उनले औँल्याए । यसअघि गत जेठमा मात्र तत्कालीन गृहमन्त्री रमेश लेखकले पनि अलपत्र कमला पुल निरीक्षण गरेका थिए । 

डिजाइन गलत भए नयाँ पुल बन्छ : घिसिङ 
स्थलगत अनुगमनपछि भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले डिजाइन गलत भएको पाइएमा नयाँ पुल निर्माण हुने बताए । ‘पुलको डिजाइनको विषयमा अन्य निकायबाट अध्ययन भइरहेको छ, ठिक छ भन्ने प्रमाणित भए यही पुल छिट्टै बन्छ र गलत भए अर्को डिजाइन बनाएर टेन्डरमार्फत नयाँ पुल बन्छ,’ उनले भने । नयाँ पुलका लागि बजेटको समस्या नहुने दाबी गर्दै उनले सरकार, सम्बन्धित निकाय, कर्मचारी जिम्मेवार हुनुपर्ने बताए । ‘सरकार कमला पुल कुनै पनि हालतमा बन्नुपर्छ भन्नेमा छ,’ घिसिङले भने । 

हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले मन्त्री घिसिङलाई स्मरणपत्र बुझाउँदै कमलामा जनस्तरबाट नयाँ पुल निर्माणका लागि सरकारले अनुमति दिनुपर्ने माग गरे । ‘करिब तीन वर्षभित्र जनस्तरबाट अहिलेको भन्दा दोब्बर लामो नया पुल निर्माण गर्नेछौँ, त्यसका लागि सरकारले अनुमति देओस्,’ स्मरणपत्र बुझाउँदै उनले भने, ‘किनकि प्राविधिक रूपले पुल काम लाग्दैन र दोब्बर लामो पुल नबनाए पानीको बहावलाई थेग्न सक्दैन ।’ 

तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २४ जेठ ०६८ मा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण ०७१ मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । तर, सरकारले कुनै निर्णय गरेको छैन । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति ८३ र वित्तीय प्रगति ८२ प्रतिशत छ । १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३ सय मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्नेछ । 

१७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो । क्षति पुगेका स्ल्याबमध्ये दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी रहेका छन् । 

सुझावित समाचार