- जेन–जी युवाहरूको सुरक्षा सुनिश्चित गर्ने, घाइतेको उपचारका लागि प्रशासन र स्वास्थ्य संस्थाबिच तत्काल समन्वय गर्ने र हालका घटनासम्बन्धी निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही प्रक्रिया छिटो अघि बढाउने विषयमा सहमति
स्थानीय प्रशासनसँग शुक्रबार तीनबुँदे मौखिक सहमति भएसँगै बाराको सिमरामा जेन–जीको आन्दोलन स्थगित भएको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको वार्ता सफल भएसँगै तीन दिनदेखिको आन्दोलन स्थगित भएको काउन्सिल अफ जेन–जी बारा संयोजक साइकुस उपाध्याय ‘सम्राट’ले बताए । ‘हाम्रा मागहरू सम्बोधन हुने भएपछि अहिलेका लागि आन्दोलन रोकिएको छ,’ उनले भने । तर, स्थानीय प्रशासनले जनाएका प्रतिवद्धता सोमबारसम्म पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेन–जी पक्षले उठाएका प्रमुख माग र क्षेत्रको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै तीन बुँदामा सहमति बनेको बताए । जेन–जी युवाहरूको सुरक्षा सुनिश्चित गर्ने, घाइतेको उपचारका लागि प्रशासन र स्वास्थ्य संस्थाबिच तत्काल समन्वय गर्ने र हालका घटनासम्बन्धी निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही प्रक्रिया छिटो अघि बढाउने विषयमा सहमति बनेको उनको भनाइ छ ।
गत बुधबार सिमरामा प्रदर्शनमा उत्रिएका जेन–जीमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेपछि तनाव सिर्जना भएको थियो भने स्थानीय प्रशासनले कफ्र्युसमेत लगाउनुपरेको थियो । जेन–जीले कफ्र्युकै अवस्थामा सिमरा विमानस्थल गेट भत्काउनुका साथै प्रदर्शनलाई चर्काे बनाएका थिए । उनीहरूले बिहीबार पनि सिमरामा प्रदर्शन गर्दा स्थानीय प्रशासनले दिनभर कफ्र्यु लगाएको थियोे । जितपुर–सिमरा उपमहानगरपालिका– २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्दिन अन्सारी तथा एमाले कार्यकर्ता अरविन्द साह पक्राउ परेपछि जेन–जी वार्तामा जान तयार भएका थिए । सोहीअनुसार शुक्रबार प्रदर्शन रोकेर वार्ता भएको थियो । यद्यपि, किटानी जाहेरी परेकामध्ये पाँचजना अझै फरार छन् ।
वार्तामा सहभागी जेन–जी अगुवा सुदन गुरुङले हालको तनाव गृह मन्त्रालयको कमजोर भूमिकाकै परिणाम भएको आरोप लगाए । उनले जेन–जी देशका लागि अग्रसर भएर काम गर्ने समूह भए पनि उनीहरूप्रति सुरक्षा संरचना संवेदनशील नबन्दा समस्या चर्किएको बताए ।