२१ फागुनमा हुने निर्वाचनका लागि ४० वटा दलले निवेदन दिएका छन् । दल दर्ताको समय १० मंसिरसम्म छ । बिहीबारसम्म ३३ निवेदन परेकोमा शुक्रबार सातवटा थपिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । यसैगरी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आठवटा पार्टीको निवेदन परेको छ । राष्ट्रिय सभा चुनावको दल दर्ताको समय ७ मंसिरसम्म छ ।
कुलमानको उज्यालो नेपाली पार्टीले पायो प्रमाणपत्र, १७ मंसिरमा घोषणासभा
यसैगरी, ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । ५१ सदस्यीय केन्द्रीय समिति र बलेको चिम चुनाव चिह्न भएको दललाई आयोगले शुक्रबार दर्ता गरेर प्रमाणपत्र दिएको हो ।
२७ साउनमा दल दर्ताका लागि निवेदन परेकोमा मन्त्री घिसिङले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा पार्टी पुनर्गठन गरी २५ कात्तिकमा अद्यावधिक कागजात पेस गरेका थिए । पार्टीका केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालले दल दर्तासँगै पार्टीको बृहत् घोषणा सभाको तयारी भइरहेको बताए । उनका अनुसार १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा घोषणा सभा हुनेछ । ढकालले निर्वाचन प्रयोजनका लागि तोकिएको समयभित्रै दल दर्ता गर्ने पनि बताए ।
पार्टीको घोषणापत्र पनि अन्तिम चरणमा रहेको भन्दै ढकालले समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइने बताए । उनले पार्टीले एकीकृत वैकल्पिक शक्ति बनाउन थुप्रै पक्षसँग बृहत् संवाद गरिरहेको पनि बताए । ‘आज हाम्रो देशलाई सुशासन र समृद्धिको उज्यालोले ढकमक्क ढाक्ने महान् उद्देश्यका लागि नेतृत्व गर्न सक्ने यो विशिष्ट शक्तिको जन्म भएको छ । साँच्चै भविष्यले लेख्ने त्यो विकासको गीत हामी कोर्दै छौँ,’ ढकालले भने । ढकालले उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी भएको र गन्तव्य उन्नत समाजवाद भएको बताए ।
यस्तै, शुक्रबारै योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फस्र्ट पार्टी पनि दर्ता भएका छन् । यससँग दर्ता दलको संख्या १२९ पुगेको छ । जेन–जी आन्दोलनपछि दर्ता दलको संख्या मात्रै १२ पुगेको छ । यसअघि हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोवको नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रचण्ड र माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल दर्ता भएका छन् ।
आयोगका अनुसार अझै नयाँ गठन भएका २८ दल दर्ताको प्रक्रियामा छन् । नयाँ दल दर्ताका लागि शुक्रबार पनि निवेदन प्राप्त भएको छ । प्रकाश खड्काको नेतृत्वमा नेपाल जनसेवा पार्टी दर्ताका लागि निवेदन प्राप्त भएको सहसचिव यज्ञ भट्टराईले बताए । उनका अनुसार चुनाव चिह्न परिवर्तनका लागि उचालेको खुट्टामा जेन–जीको जुत्ता रहेको छ ।