काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा २२ जनाविरुद्ध अर्काे मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
सो मुद्दामा यसअघि विस्तृत विवरण नखुलेको भन्दै ज्ञानबहादुर बमजन पक्राउ परेपछि मुद्दा चलाइएको हो । बमजनसहित सो सहकारी हिनामिनाका मुख्य आरोपी गितेन्द्रबाबु (जिबी) राई, देवेन्द्रबाबु राई, कुमार रम्तले, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दीपक लामा, सविना आलेमगर तथा भक्तबहादुर भोलनलाई प्रतिवादी बनाइएको छ।
प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नवीन अछामी, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र माया राईविरुद्ध मुद्दा दायर भएको हो । राई नेपाली कांग्रेसको निवर्तमान सांसद हुन्। सुरुमा उनलाई प्रहरीले जोगाएकोमा पछि दबाबपछि मुद्दा दायर भएको थियो। उनी सो सहकारीको पूर्वसञ्चालक हुन्।
उनीमध्ये ज्ञानबहादुरको अमेरिकाको नागरिकता फेला परेको छ। यसअघि उनी पोखराको सहकारी सूर्यदर्शन सहकारीमा पनि प्रतिवादी रहेकोमा धरौटीमा छुटेका थिए।
जेन–जी आन्दोलनअघि नै प्रहरीले उनलाई पक्राउ गरेकोमा आन्दोलनमा हिरासतबाट भागेका थिए। पछि पुनः पक्राउ गरी अनुसन्धान पूरा गरी मुद्दा दायर गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
सो सहकारीले सर्वसाधारणको एक अर्ब २० करोड २३ लाख ठगी गरेको भन्दै जाहेरी परेको छ ।
सहकारीको रकम गोर्खा मिडियामा गएको र त्यसवेला गाेर्खा मिडियाको सञ्चालक भएको आधारमा रवि लामिछानेलाई पनि प्रहरीले मुद्दा दायर गरेको थियो ।
सो सहकारीको ठगीमा यसअघि दुईपटक जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।