हायस दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका– ५, भैँसेमा आज बिहान हायस माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको बा.४ख ५५०२ नम्बरको सप्तकोशी हाइस माइक्रो पाख्रीबासको भैँसेमा आज बिहान ६:१०  बजे दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका– २ की ८२ वर्षीया सावित्रा कालाखेतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएकी कालाखेतीको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा संखुवासभा जिल्ला खाँदबारी नगरपालिका– ७ का ५० वर्षीय रत्नबहादुर विक र हायसचालक ४० वर्षीय दीपेन्द्र बुढाथोकी छन् । उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको प्रहरीले बताएको छ । गम्भीर घाइते दुवैजनाको शरीरको विभिन्न भागमा चोट लागेको छ । त्यस्तै, दुर्घटनामा घाइते अन्यको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

मध्यम तथा सामान्य घाइते हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका– ३ घर भई संखुवासभा दरबन्दी भएका प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङ गाउँपालिका– ३ की ३० वर्षीया संगीता राई, सोही स्थानका ३९ वर्षीय नरेन्द्र राई, संखुवासभा पाँचखपन नगरपालिका– ९ की २४ वर्षीया लमु शेर्पा, उदयपुर जिल्ला लिम्चुङबुङ– १ की ४४ वर्षीया निर्जला राई, सोही स्थानकी ११ वर्षीया विनिता राई र १४ वर्षीय जेसन राई, सिन्धुली जिल्ला फिटिङ गाउँपालिकाका १९ वर्षीय सन्तबहादुर तामाङ, भोजपुर जिल्ला साप्लासिलिचुङ गाउँपालिका– ५ का ३२ वर्षीय पासाङ शेर्पा रहेको प्रहरीले बताएको छ । 

दुर्घटनामा घाइतेहरूको प्रायः सबैको शरीरका विभिन्न भागहरूमा चोट लागेको डिएसपी कार्कीले बताए । तीव्र गतिमा गुडिरहेको हायस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको थियो । हायस अहिले घटनास्थलमा नै रहेको छ भने सडक अवरुद्ध नभएको प्रहरीले बताएको छ ।

सुझावित समाचार