सार्वजनिक स्वास्थ्यको सबैभन्दा ठुलो अवरोधक सुर्ती उद्योग : बम

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

भाइटल स्ट्राटेजिज एसिया प्रशान्त क्षेत्रका निर्देशका डा. तारासिंह बमले नेपालमा सार्वजनिक स्वास्थ्यको सबैभन्दा ठुलो अवरोधक सुर्ती उद्योगको हस्तक्षेप रहेको बताएका छन् । जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) को ११औँ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा सुर्ती उद्योगको हस्तक्षेप अत्यधिक भएको र त्यसबाट स्वास्थ्यमा प्रतिकूल अवस्था उत्पन्न भएको टिप्पणी गरे ।

‘नेपालले सुर्ती नियन्त्रणका लागि बनाएको नीतिको कार्यान्वयनलाई अवरोध गर्न सुर्ती उद्योगहरू सधैँ तम्तयार देखिन्छन् । सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत भागमा चेतावनीमूलक चित्र, ९० प्रतिशत भागमा चित्र राख्ने व्यवस्थाविरुद्ध मात्रै होइन, अहिलेको शतप्रतिशत भागमा चेतावनीमूलक चित्र राख्ने नीति कार्यान्वयन गर्न पनि उद्योगले उसैगरी मुद्दा हाल्ने र सरकारमाथि दबाब सिर्जना गरी वर्षौँ ढिला गराउने पक्षमा छन् । किनभने नेपालमा सुर्ती उद्योगको प्रभाव संरचनागत रूपमा फैलिएको छ ।’ नेपाललाई एफसिटिसीको धारा ५.३ र धारा १९ अनुसार सुर्ती उद्योगलाई निषेध र जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो । पाँच दिनसम्म चल्ने ‘इलभेन्थ सेसन अफ द कन्फ्रेन्स अफ द पार्टिज अर्थात् ‘सिओपी (कोप)– ११’ सम्मेलनमा सुर्ती नियन्त्रणका सम्बन्धमा पक्ष राष्ट्रहरूमा भइरहेका गतिविधि र समस्याबारे छलफल हुनेछ । भाइटल स्ट्राटेजीसहितका अन्तर्राष्ट्रिय संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा पनि नेपाललाई एफसिटिसीको सबैभन्दा अवरोधग्रस्त, तर अग्रसर देशको रूपमा प्रस्तुत गरिएको छ ।

सुझावित समाचार