सूचना निकाल्दै बैठक सार्दै कांग्रेस

बिहीबार तेस्रोपटक निरन्तर बैठक स्थगित, यसअघि २९ कात्तिक तथा १ र ४ मंसिरमा पनि गरिएको थियो स्थगित

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

महाधिवेशनबारे सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लगातार तेस्रोपटक सूचना निकालेर स्थगित भएको छ । महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विवादका कारण केन्द्रीय कार्यसमिति बैठक पटकपटक स्थगित हुँदै आएको हो । विवादकै कारण गत २८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म अनिर्णीत छ । 

गत २६ असोजमा बोलाइएको बैठक कार्यसम्पादन समितिमा छलफल जारी भएको भन्दै २८ असोजमा सुरु भएको थियो । त्यसपछि ३० र ३१ असोज, १, १३, १४, १६, १८, १९, २०, २१, २५, २६ र २७ कात्तिकमा बैठक बसेको छ । २३ कात्तिकको बैठक स्थगित भएको थियो भने २९ कात्तिकदेखि निरन्तर सूचना प्रकाशित गरेर बैठक स्थगित हुँदै आएको छ । 

२९ कात्तिक, १ र ४ मंसिरमा बस्ने गरी बोलाइएको बैठक सूचना प्रकाशित गरेर स्थगित गरिएको हो । बैठक स्थगित गरेर शीर्ष तहमा पटक–पटक छलफल गरिए पनि अझै सहमति जुट्न सकेको छैन । गत बिहीबार धारणा राख्ने क्रम सकिएपछि बैठक स्थगित हुँदै आएको छ ।

बिहीबार बोलाइएको बैठक सूचना प्रकाशित गरेर स्थगित गरिएको छ । ‘कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनेका छन् । यसअघि, शनिबार र सोमबार बोलाइएको बैठक पनि सूचना प्रकाशित गरेर स्थगित गरिएको थियो । 

कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिले मिलाउने भन्दै बैठक स्थगित गरेको जानकारी दिए । ‘पहिले आमनिर्वाचन अनि महाधिवेशन गर्ने हो । तर, अहिलेसम्म केन्द्रीय समितिबाट निर्णय भएको छैन, आज बैठक थियो, कार्यवाहक सभापतिले म मिलाउँदै छु भनेर बैठक सार्नुभयो,’ महिला संघले राजधानीमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने ।

केन्द्रीय कार्यसमिति बैठकबाट एक वर्ष म्याद थपेर वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुने उनको दाबी छ । निधिले निर्वाचनमा सहभागी भएर पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने बताए । महाधिवेशन वैशाखमा गर्न उपयुक्त हुने दाबी गरे ।

सहमहामन्त्री महेन्द्र यादवले आफूहरूसँगको सहमतिमै महाधिवेशनको कार्यतालिका बैठकमा पेस गरेको उनले जानकारी दिए । अहिलेको आवश्यकता निर्वाचन नै भएको उनले दाबी गरे । ‘हामीले आमनिर्वाचनलाई प्राथमिकता दिनुपर्छ । आमनिर्वाचन राष्ट्रिय एजेन्डा हो । त्यसैले आमनिर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्छ,’ निधिले भने । निर्वाचनअघि महाधिवेशनको तयारी गर्न समय नपुग्ने उनको दाबी छ ।

सुझावित समाचार