सिमरा झडपमा संलग्न थप एक पक्राउ

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

जितपुरसिमरा उपमहानगरपालिका– २ काे सिमराचोकमा बुधबार भएको युवा संघ र जेन–जी समूहबिचकाे झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीले घटनामा संलग्न जितपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साहलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले साह पक्राउ गरेको पुष्टि गरे । तामाङका अनुसार सिमरा झडप प्रकरणमा बारा प्रहरीले साहसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले बिहीबार बिहान जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका श्रेष्ठ र अन्सारी दुवैजना जनप्रतिनिधि भएकाे प्रहरीले जनाएकाे छ । 

झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका थिए। घटनामा अन्य केही व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने प्रहरीकाे भनाइ छ। 

जितपुरसिमरामा यस घटनापछि स्थानीयको चासो र सुरक्षाबारे चिन्ता बढेको छ। प्रहरीले स्थानीयलाई अफवाहमा नपर्न, विवादलाई शान्तिपूर्वक समाधान गर्न सहयोग गर्न र प्रहरीसँग सहकार्य गर्न अपिल गरेको छ। प्रहरीले अन्य सम्भावित संलग्न व्यक्तिहरूको पहिचान, घटनाको वास्तविक कारण तथा योजनासम्बन्धी पक्षमा थप अनुसन्धान जारी रहेको पुष्टि गरेको छ।

सुझावित समाचार