चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पोखरा महानगरपालिका नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा मृतकका आफन्तले दिनभर प्रर्दशन गरेका छन् । तनहुँको व्यास नगरपालिका–१३ बेनिकोट घर भएकी १६ वर्षकी रुपा बिकको मृत्यु भएपछि आफन्तहरूले हिजोदेखि नै प्रर्दशन गरेका हुन् ।
पेट दुखेपछि उपचारका लागि आफन्तले ३० मंसिरमा तनहुँको दमौली अस्पताल लगेकोमा अस्पतालले थप उपचारका लागि पोखरा लैजान भनेपछि रुपालाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा २ मंसिरमा उनको मृत्यु भएको थियो ।
सामान्य अवस्थामा अस्पताल आएकी रुपाको उपचारमा अस्पतालले लापरवाही गर्दा मृत्यु भएको आरोप लगाउँदै आक््रmोशित आफन्तले अस्पतालमा दिनभर नाराबाजी गरेका थिए ।
रुपाको मृत्युपछि आफन्तहरूले बुधबारदेखि नै प्रर्दशन सुरु गरेका थिए । अस्पतालको आईसीयू कक्ष अगाडि बुधबार प्रर्दशन गरेपछि अस्पतालका सुरक्षाकर्मी र मृतकका आफन्तबिच विवादसँगै धकेलाधकेल र सामान्य झडप भएको थियो । तनावपूर्ण अवस्था सृजना भएपछि मृतकका अस्पताल र अस्पताल प्रशासनबिच वार्ता भए पनि सहमति हुन नसकेपछि आफन्तहरुले पुनः बिहीबार प्रर्दशन गरेका हुन् । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग आफन्तहरूले गरेका छन् ।
मृतकका श्रीमान् किसान सुनारले चिकित्सकको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको आरोप लगाए । अस्पताल आएपछि सोधपुछपछि रुपाको भिडियो एक्सरे र सिटी स्क्यान गर्दा एपेन्डिस देखिएकाले अप्रेशन गर्नु पर्ने र एक दिन पानी, खाना केही नखाई भोकै बस्न चिकित्सकले भनेको उनले बताए । भोकै बस्न लगाएर अस्पतालले अक्सिजन कम भएको भन्यो । अनि बेहोश बनाउने सुई लगाएर भेन्टिलेटरमा लगेर राख्यो । पछि एक्कासी आएर मृत्यु भएको जानकारी आफूहरुलाई दिएको किसानले बताए ।
रुपाको मृत्युपछि अस्पताल प्रशासनले उपचारका क्रममा गरिएको रेकर्ड प्रयोग गरिएको औषधिको विवरण लुकाएर घटनालाई ढाकछोप गर्न खोजिरहेको आरोप किसानको छ । घटनाबारे अस्पताल प्रशासनले उपचारका क्रममा आफूहरुबाट कुनै गल्ती नभएको जनाएको छ ।