पुराना भिडियो फैलिएपछि सिमरा प्रहरीले भन्यो– गलत सूचनाबाट सचेत रहौँ

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको सिमरा क्षेत्रमा बुधबारदेखि पैदा भएको तनावपूर्ण अवस्थालाई केही व्यक्तिहरूले सामाजिक सञ्चालमार्फत झनै उथलपुथल बनाउन खोजेको प्रहरीले जनाएको छ। जेन–जी समूहले तोडफोड र आगजनी गरेको भनी पुराना भिडियाेहरूलाई हालैका घटनाजस्तै देखाउने गरी पुनः प्रसारण हुन थालेपछि स्थानीयवासीबिच अनावश्यक त्रास, भ्रम र उत्तेजना फैलिएपछि प्रहरी सतर्क बनेको हो।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले यस्ता भ्रामक सामग्रीले वास्तविक सुरक्षा अवस्था कमजोर पार्ने, तनाव चर्किन सक्ने तथा अनियन्त्रित भिडन्तको जोखिम बढाउनेतर्फ सचेत गराए। उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै भनेका छन्, ‘पुराना भिडियाेहरू हालका घटनासँग नजोड्नुस्, अपुष्ट सूचना नफैलाउनुस्। हल्ला र भ्रमले स्थिति थप बिग्रिन सक्छ।’

जोशीका अनुसार हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रसारण गर्ने व्यक्तिहरूको पहिचान थालिएको छ। यस्ता गतिविधि रोक्न तथा कानुनविपरीत सामग्री प्रसारण गर्नेहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि प्रहरीले प्रस्ट्याएको छ।

सुरक्षा निकायले संयमित सञ्चार, तथ्य प्रमाणमा आधारित जानकारी आदान–प्रदान तथा गलत सूचनाबाट सचेत रहन सबैलाई अपिल गरेको छ।

सुझावित समाचार