स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामा स्थापना हुने

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामा स्थापना हुने बताएका छन् । जुम्लासहित कर्णालीको स्याउ उत्पादन वृद्धि, बजारीकरण तथा क्षेत्र विस्तारका लागि काम गर्न गठन हुन लागेको स्याउ विकास बोर्डको कार्यालय जुम्लामै रहने कृषिमन्त्री शाहले बताएका हुन् । कर्णाली प्रदेशको १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा स्याउ उत्पादन हुने गरेको छ । 

जुम्लामा ०२४ सालदेखि स्याउका बिरुवा रोपेर उत्पादन थालिएको हो । यहाँ ४२ सय हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ नेपालका ठुला सहरमा पुग्ने गरेका छन् । विशेषगरी, साउन–भदौ स्याउको सिजन हुने भएकाले यहाँ आउने पर्यटक स्याउ बगैँचामा रमाउने गर्छन् ।

यहाँको विषादीरहित स्याउ ८०–८५ रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ । गत वर्ष ६१ करोड र यस वर्ष ४५ करोडको स्याउ बिक्री–वितरण भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम करिडोर कार्यालय उद्घाटन गर्ने क्रममा जुम्ला पुगेका कृषिमन्त्री शाहले स्याउ विकास बोर्ड गठनको प्रक्रिया अन्तिम चणमा पुगेको र मुख्य कार्यालय जुम्लामा स्थापना हुने बताएका छन् । 

नीति तथा कार्यक्रम तथा बजेट भाषण हुँदै रातो किताबमा समेत समावेश भई हाल विधेयक तर्जुमाका लागि समितिसमेत गठन गरेर काम अघि बढेको मन्त्री शाहको भनाइ छ । चालू आर्थिक वर्षभित्र स्याउ विकास बोर्ड गठन, कार्यालय स्थापनालगायतका सबै प्रक्रिया टुंगिनेसमेत उनले बताएका छन् ।
 

सुझावित समाचार