- यो मेरो एजेन्डा थियो, हामी यसो गर्दै थियौँ, हाम्रो इतिहास यस्तो थियो भनेर अलाप्दैमा जनताको विश्वास जित्न सकिँदैन
विचारक नोम चोम्स्कीका अर्थमा मुलुक विपन्न हुँदैन, हुन्छ भने त्यहाँको राजनीतिले बनाएको हो । अर्थशास्त्री मिल्टन फ्रायडम्यानले यतिसम्म भनेका थिए कि खराब मानिसलाई सहारा मरुभूमिको शासक बनाए पाँच वर्षपछि त्यहाँ बालुवा रहनेछैन । नेपालमा विपन्नता छ, गरिबी छ र कुशासन छ । तर, यी कुरा प्रकृतिप्रदत्त होइनन्, स्वाभाविक पनि होइनन्, केवल शासकीय कमजोरीका उपज हुन् । नेपाललगायत अल्पविकसित मुलुकमा लगातार धकेलिँदै गएको समृद्धि र रूपान्तरणको लक्ष्यले विचारकहरूको यिनै भनाइलाई सत्यसाबित गरिरहेको छ । राजनीति गर्नेहरूलाई चोम्स्की र फ्रायडम्यानको भनाइले ठुलो चुनौती दिएको छ । उनीहरू जेन–जी र अल्फाजेन होइनन, विचार र अनुभवबाट खारिएका चिन्तक हुन् । सुशासन र समृद्धिको नेतृत्व गर्छु भनेर राजनीतिमा लागेका व्यक्तिहरूमा असल बुझाइ, असल सोच र असल कार्य हुनैपर्छ । त्यसो नहुँदा नागरिकमा निराशा रहन्छ ।
अहिले जनमानसमा राजनीतिप्रति उग्र वितृष्णा छ । राजनीति र शासनप्रति जनताको विश्वास छैन । यसो हुनु कुनै पनि सभ्य समाजका लागि दु:खको कुरा हो । प्रविधि पुस्ता (जेन–जी)ले गरेको आन्दोलनपछि अब फेरि राजनीतिक दलका सबैखाले नेता, जसको प्रवृत्तिविरुद्ध जनआक्रोश पोखिएको थियो, त्यो उनीहरूकै कार्यसूची थियो, उठाउन मात्र ढिला भएको हो भनेर ठट्टेबाजी गरिँदै छ । सबै दलभित्र जेन–जीको नाम लिन थालिएको छ, प्रशासनमा पनि जेन–जी समूह बनेको छ भन्ने गरिन्छ, जब राजनीतिज्ञहरू जनता शब्द प्रयोग गर्न थाल्छन्, जनताले अर्को छल आउँदै छ भनेर बुभ्mन तयार हुनुपर्छ । जब प्रशासनले कुनै समूहको कुरा गर्छ, ऊ आफ्ना मूल्य आचरणबाट बाहिरिएछ भनेर बुभ्mनुपर्छ । प्रशासनको काम गर्ने मात्र हो भन्ने होइन, प्रशासनको जवाफ शब्दमा होइन, काममा खोजिन्छ । उसको कामले पलपल नवप्रवत्र्तन गर्नुपर्छ, उसका व्यवहारले सेवाग्राही सर्वसाधारणका मनमा आसन जमाउनुपर्छ । राजनीति त सुशासन र रूपान्तरणको मियो हो । उसका भनाइ होइन, नेतृत्वमा सामाजिक वास्तविकता देखिनुपर्छ । नगरिएको काम वा नभएको कार्यसूचीबाट क्षतिपूर्ति खोज्दा राजनीतिप्रति निराशा जाग्नु स्वाभाविक हो । यो मेरो एजेन्डा थियो, यसो गर्दै थियौँ, आफूहरूको पनि इतिहास यस्तो थियो भनेर अलाप्दैमा स्खलित विश्वास जित्न सकिँदैन । राजनीतिज्ञले बुझ्नुपर्ने कुरा के पनि हो भने जिम्मेवारीको परीक्षण कामबाट हुन्छ, काम सामथ्र्य र समर्पणको परिणाम हो अनि सामथ्र्य देखाउने मानिसले पहिलो जिम्मेवारीमा नै आफ्नो सामथ्र्य देखाउँछन् । पटक–पटकको जिम्मेवारी सामथ्र्यहीनताको प्रतीक हो, समय र समाजप्रतिको बर्बादी पनि हो । समयको सन्दर्भ, गति र प्रवेग नबुझ्ने राजनीतिज्ञले आफ्नै सन्तानप्रति अन्याय गरिरहेका हुन्छन् । केहीअघि दक्षिण कोरियाका एक विद्यार्थीले नेपालमा आएर भनेका थिए– देशका लागि आँसु नबगाउने नेताबाट देश कहिल्यै उँभो लाग्दैन ।
नेपालको राजनीतिमा जवाफदेहिता उपेक्षित छ । केहीअघिको आन्दोलन जवाफदेहिता, सुशासन र साझा भविष्यको खोजीका लागि भएको थियो । निश्चित अवधिका लागि जनताका तर्फबाट सार्वभौमशक्ति आफैँले वरण गर्ने जनप्रतिनिधि जनभावनाप्रति उत्तरदायी नहुँदा लोकतन्त्र जनतासम्म पुग्न सकेन । वैयक्तिक स्वार्थको समर्पण गरेर राजनीति गर्छु भन्ने प्रण जनप्रतिनिधिहरूमा हुन सकेन । परिणामत: पटक–पटक तिनै अनुहार सत्तामा पुगिरहे । जनता आफ्नो काममा आफैँ लाग्छन्, हामीले म्युजिकल चियरमा खेल खेलिरहँदा के फरक पर्यो र भन्ने मनोविज्ञान राजनीतिक दल र तिनका नेताहरूमा देखियो । नेतृत्वमा पुगेपछि जनता केही होइनन्, बाध्यात्मक विकल्प वा कुनै कारणबाट आफैँ शक्तिमा स्थापित भइरहन्छु र जे पनि गर्न भइहाल्छ भन्ने नेताहरूको सतही दृष्टि छ । त्यसैले जनताका एजेन्डा र सामाजिक वास्तविकतामा उनीहरू कत्ति पनि सचेत छैनन् । आफूहरू पटक–पटक सत्तामा पुग्नका लागि जनतालाई बाध्यात्मक विकल्पमा पुर्याउने प्रवृत्तिले नेताको व्यक्तिगत अभीष्ट त पूरा हुँदै आएको छ, तर राजनीतिबाट समाज असंलग्न हुँदै गएको छ । आफ्ना लगातारका असफलतामा कत्ति पनि प्रायश्चित नगर्ने र अहं अनि आग्रह प्रदर्शन गरिरहने राजनीतिका कारण मुलुक अहिलेको अवस्थामा छ । राजनीतिक दलभित्र असल व्यक्ति नभएका होइनन्, तर उनीहरू दलभित्रको बैठक, महाधिवेशन, मिति तिथि, यो ऊजस्ता झिनामसिना कुरामा अल्झिरहने स्थितिले जनहित र राष्ट्रिय विकासका विषय दलहरूको एजेन्डा बनेका छैनन् । सरकारमा पुगेपछि के गर्ने भन्ने वास्तविक दृष्टिकोण निर्माण कुनै पनि दलबाट भएको छैन । दलभित्रका लामो भविष्य भएका युवाहरूले नेताको वलय बन्दैमा आफ्नो भविष्य सिध्याइरहेका छन् । कुनै वेला आशा र भरोसाका बिम्ब ठानिएका नेताहरू आफ्नै कारण जनताबाट टाढा बनेका छन् ।
असल र नैतिक मानिसहरू राजनीतिमा असंलग्न भएपछि संलग्न हुनेहरूले आफ्नो उपस्थितिलाई अवसर र स्वार्थमा उपयोग गर्ने नै भए । सदाचारी र इमानदार मानिसले मात्र वास्तविक रूपमा प्रतिनिधित्व धारण गर्न सक्छन् । यस्ता व्यक्ति राजनेता कहलिन्छन् । दार्शनिक फ्रेडरिक नित्सेको भनाइमा राजनेताको अभावमा राजनीतिक दलले मानिसलाई दुई वर्गमा विभाजन गर्छन्, एउटालाई हतियार र अर्कोलाई शत्रु । शत्रु त शत्रु भइहाल्यो, उसलाई जसरी पनि खेद्ने हो । हतियारको विशेषता उपयोग हुनु हो, प्रयोग गर्नेले जसरी प्रयोग गर्छ त्यसैमा रमाउनु उसको चरित्र हो । कहिलेकाहीँ मानिसहरू सत्य सुन्न चाहँदैनन्, किनकि मानिसहरू आफ्नो भ्रम नष्ट होस् भन्ने चाहँदैनन् । राम्रा कथा सत्य नहुन सक्छन्, सजिलै विश्वास जित्दैनन्, तर गतावधिक नेताहरू राम्रा कथा हालेर जनतालाई अल्मल्याउन खप्पिस हुन्छन् । राजनीतिज्ञहरू मानिसलाई प्रभाव पार्न अर्धसत्य बोल्छन् । अर्धसत्य असत्यभन्दा धेरै खतरनाक हुन्छ । भ्रम सिर्जना गर्न, सपना बेच्न, आफ्नो अनुचर बनाउन अर्धसत्यको उपयोग गरिन्छ । यसले सर्वसाधारणको सपना सजिलै खोस्छ र भ्रमको सपना सिर्जना गर्छ । यस अवस्थामा आस्थाको अपहरण हुन्छ, सपनाको हत्या । राजनीतिलाई जवाफदेही बनाउने, सत्य बोल्ने र झुटको पर्दाफास गर्ने दायित्वमा रहेका बुद्धिजीवीहरू सत्यबाट स्वार्थको मार्गमा जान्छन् । यसले शासनलाई झनै गिजोल्दै मुलुकलाई अँध्यारो भविष्यतर्फ लैजान्छ ।
राज्य आफैँमा नैतिक अनुष्ठान हो । तर, यो त्यत्तिकै नैतिक अनुष्ठान बन्ने होइन, मानिसहरू नै संस्थालाई नैतिक अनुष्ठान बनाउने पात्र हुन् । पात्रहरू कमजोर नैतिकतामा रहँदा शक्तिका लागि संस्थाहरूले नैतिकताका नाममा मापदण्ड लाद्न सक्छन् । अनुशासनका नाममा लादिएका मापदण्ड तब मात्र नैतिक बन्छन् जब पात्रहरूमा नैतिक आचरणका धरोहर हुन्छन् । राज्यमा जहिले पनि नैतिक र सदाचारी मानिसको आवश्यकता हुन्छ । स्वार्थको समर्पण गर्न सक्ने नेताहरूले नैतिकताको नेतृत्व गर्न सक्छन्, राज्यका संस्थाहरूमा हुने नियुक्ति, मनोनय र जिम्मेवारी वितरणमा आफ्नो–अर्काको नभनी वस्तुनिष्ठ आधार लिन्छन् । नियुक्ति/जिम्मेवारी पाउनेहरू पनि त्यसप्रति आफूले अपनत्व राख्न सके मात्र स्वीकार गर्छन् । संस्थाले अपनत्वमा लिन नसक्ने व्यक्ति संस्थाको नेतृत्वमा पुग्दा व्यक्तिको छवि–वृत्ति मात्र सखाप हुने होइन, समय र स्रोतको पनि बर्बादी हुन्छ, जसको क्षतिपूर्ति गर्नै सकिँदैन । यस्तो अवस्थामा नियुक्ति लिने र नियुक्ति दिने दुवै नैतिक अपराधी बन्छन् । कतिपय व्यक्तिहरू प्रसिद्धिको लोभले पनि अपनत्व नहुने जिम्मेवारीमा रमाउँछन् । गिलीले भनेझैँ भुल्न नहुने कुरा के हो भने, प्रसिद्धि एउटा बाफ हो, लोकप्रयिता एउटा दुर्घटना हो, धनले त्यसलाई पखेँटा लगाइदिन्छ । केवल एउटा कुरा मात्र टिक्छ, त्यो हो चरित्र ।
युवाहरू परिवर्तनका पारखी हुन्छन् । अधीर हुन्छन् र समयको आवाज नबोलिए आफ्नै अभिभावकप्रति आक्रामक बन्छन् । अभिभावक पुस्ताले गतावधिक र थकित भएर पनि समयका आवाजलाई थुनिराख्छन्, यसो गर्न उनीहरूसँग कुटिल क्षमताचाहिँ हुन्छ । त्यसैले प्रत्येक पुस्ता अघिल्लो पुस्ताप्रति आन्दोलनमा रहन्छन् । समयले राजीनामा मागिसकेपछि कोही पनि जिम्मेवारीलाई अवसर मानेर रहनुहुन्न । जोहरान ममदानीले न्युयोर्कको मेयरमा विजयपछि ‘हाम्रो समय अब आयो’ भन्ने अभिव्यक्ति दिन पुगे । शासकीय परिपाटीमा जनताका (समयको) स्वर सुनिन ढिला हुँदा नागरिकहरू आफ्ना स्वर सुनाउन जुर्मुराउँछन् । यस्ता स्वर नागरिकका सुख–दु:खमा झिजेका हुन्छन् र स्वर सुनाउनेहरू युवा नै हुन्छन् । युवाहरू सपना देख्न र संघर्ष गर्न अघि हुन्छन्, किनकि उनीहरूको भविष्य लामो हुन्छ । उनीहरू समाजभित्र विकसित आर्थिक, सामाजिक र राजनीतिक अन्तरविरोधलाई परास्त गरी परिवर्तन गर्न अधीर हुन्छन् । पछिल्ला पुस्ताहरूको असहमति र अग्रमनले नै मानव विकास यहाँसम्म आएको हो । त्यसैले दार्शनिक प्लेटो भन्ने गर्छन्– प्रत्येक पुस्ता आफ्ना नेतृत्वको विरुद्धमा रहन्छ । मानिसहरू लामो समयसम्म झुकिरहन चाहँदैनन्, निरन्तर परिवर्तन उनीहरूको अभीष्ट हो ।
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)