आ–आफ्ना विचार र कार्यक्रम लिएर शान्तिपूर्वक भेला हुन पाउनु सबैको लोकतान्त्रिक अधिकार हो । यस्तो अधिकार प्रयोगलाई कसैले पनि रोक्नु राम्रो होइन । कुनै दलका तर्फबाट प्रतिशोध राखेर आक्रमण गरेमा प्रतिकार हुन सक्छ । तर, कसैले कार्यक्रम गर्दै छ भनेर पहिल्यै विमानस्थल नै कब्जा गर्नु या विमान अवतरण हुन नदिनु गलत हो । जेन–जी भाइबहिनीले पनि संयम अपनाउनुपर्छ । यस्तो हुन थाल्यो भने त आगामी निर्वाचन कसरी शान्तिपूर्ण होला र ? पञ्चायतमा बिपी कोइराला जिल्ला–जिल्लामा जाँदा पञ्चहरूले अवरोध गर्थे । तर, लोकतन्त्रमा शान्तिपूर्वक भेला रोक्न वा त्यसमा अवरोध पुर्याउन मिल्दैन । त्यसैले, सबैले संयमित हुनु आवश्यक छ ।
यस्ता घटनाले आगामी निर्वाचनलाई कति र कस्तो प्रभाव पार्लान् ?
यस्ता एक–दुई घटनालाई हेरेर यस्तै हुन्छ भनेर तत्काल निष्कर्ष निकालिहाल्न त मिल्दैन । तर, कुनै पनि समूहलाई उत्ताउलो भएर कानुन हातमा लिने अधिकार छैन । यतिखेर निर्वाचनको विकल्प छैन । कसैले पनि निर्वाचन बिथोलिने गतिविधि गर्न मिल्दैन । त्यसैले, यसबारे सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
यस्ता घटना दोहोरिन नदिन सरकार र राजनीतिक दलको कस्तो भूमिका अपेक्षित हुन्छ ?
शान्तिपूर्वक भेला हुने, आफ्नो विचार अरूलाई सुनाउने, जनतामाझ आफ्ना एजेन्डा लिएर जाने लोकतान्त्रिक अधिकार कसैबाट पनि कुण्ठित हुनुहुँदैन । यसमा राजनीतिक दल र जेन–जी समूह पनि संयमित हुनुपर्छ । भविष्यमा यस्तै घटना बढ्न थाले भने सरकार मौन बस्न मिल्दैन । उसले राजनीतिक दल र जेन–जी समूहबिच संवाद गराएर शान्तिपूर्ण माहोल बिथोल्ने काम नगर भनी सम्झाउनुपर्छ । तैपनि, यस्ता घटना दोहोरिन थाले भने सरकारले आफ्नो ‘अथोरिटी’ प्रयोग गर्नुपर्ने अवस्था आउन पनि सक्छ ।