जारी नेपाल प्रिमियर लिगमा म्याच फिक्सिङ गर्न खोजेको आरोपमा प्रहरीले एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ।
खेलको नतिजामा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने विशेष सूचनाको आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दुईजनालाई पक्राउ गरेको हो।
सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राममार्फत खेलाडीहरूलाई सम्पर्क गरी स्पोन्सर गर्ने भन्दै फिक्सिङ गर्न खोजेको आरोपमा प्रहरीले भारत हरियाणा रानीमहाल पानीपतका २८ वर्षीय दिलप्रीत सिंह र बर्दियाको बारबर्दिया– ८, मगरागडी घर भई भारत चण्डीगढ बस्ने २४ वर्षीया रेविकासिंह ठकुरीलाई पक्राउ गरेको हो।
मंगलबार लाजिम्पाटबाट पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।