जाजरकोटको बारेकोट गाउँपालिका– ६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबार साँझ करिब ७ बजे भएको गोली प्रहार घटनामा एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीय टेकेन्द्र नेपालीले मेलाका क्रममा गोली चलाएका हुन्।
घटनामा बारेकोट– ७ का यमबहादुर सिंह घाइते भएका छन्। सिंहको पेटतर्फ गोली लागेको प्रहरीले जनाएको छ। घाइतेलाई स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए।
उनका अनुसार नेपालीले पेस्तोल चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिनकुमार खड्काका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ। गोली प्रहार गर्ने नेपाली फरार रहेका र प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ।