नेपालीमा लेख्ने, पढ्ने र युनिकोड रूपान्तरण गर्नेहरूका लागि नयाँ वेब प्लाटफर्म सञ्चारगृह सार्वजनिक भएको छ।
यस प्लाटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रितीबाट युनिकोड र युनिकोडबाट प्रितीमा रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीलाई समेत युनिकोडमा परिवर्तन गर्ने सुविधा उपलब्ध छ।
यो प्लाटफर्मलाई अन्य कन्भर्टरभन्दा फरक बनाउन युजर एक्सपिरियन्स (UX) र युजर इन्टरफेस (UI)मा विशेष ध्यान दिइएको छ। अझ यस फन्ट कन्भर्टरलाई कुनै पनि वेबसाइटमा निःशुल्क प्रयोग गर्न सकिने विकासकर्ताले बताएका छन्।
हाल प्रचलित कन्भर्टर जटिल, विज्ञापनले भरिएका वा मोबाइलमैत्री नभएकाले आफूहरूले प्रयोगकर्ताले सजिलै बुझ्ने र झन्झटरहित प्लाटफर्म विकास गरेको सञ्चारगृहका प्रमुख शम्भु ढुंगानाले बताए।
विशेषगरी पत्रकार, सम्पादक, अनुवादक र प्रकाशन गृहसहित डिजिटल प्लाटफर्ममा नेपाली भाषमा काम गर्ने सबैका लागि यो प्लाटफर्म उपयोगी हुने ढुंगाना बताउँछन्।
विकासकर्ताले निकट भविष्यमा स्पेल चेकर, व्याकरण सजेसन, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर थप्ने योजना बनाएको बताएका छन्। यससँगै सञ्चारगृह डटकम केवल कन्भर्टर नभई पूर्ण भाषिक समाधान केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ।