नेपाल–बेलायत उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन गरिएको छ। संघको साधारणसभाले डा. रोशन राठीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। एलसिसिआई ग्लोबल क्वालिफिकेसन्सको प्रतिनिधित्व गर्दै राठी अध्यक्ष चयन भएका हुन्।
त्यसैगरी, उपाध्यक्षमा पीयूषराज अर्याल (लक्ष्मी सनराइज बैंक), कोषाध्यक्षमा विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फन्ड), महासचिवमा शरद बञ्जारा (जेनेस सोलुसन्स) र उपमहासचिवमा गोविन्द शाही (युनिलिभर नेपाल) चयन भएका हुन्।
कार्यकारिणी सदस्यमा भने येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक), शिवप्रकाश खेम्का (महावीर श्री इन्टरनेसनल), नीलु बस्न्यात (डिएआई ग्लोबल), निवर्तमान अध्यक्ष राजेन्द्रकुमार खेतान (लक्ष्मी कर्प) रहेका छन्।
बैठकको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष राजेन्द्रकुमार खेतानले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने नयाँ लक्ष्य र आगामी योजनाबारे प्रकाश पारे। नेपालमा पुनः सक्रिय गरिएको युके डिपार्टमेन्ट फर बिजनेस एन्ड ट्रेड र दुवै देशबिच बढ्दो व्यावसायिक साझेदारीले नयाँ अवसर सिर्जना गरेको उनले बताए।
नयाँ समिति वित्त, व्यापार, बहुराष्ट्रिय कम्पनी, विकास क्षेत्र, उद्यमशीलतामा अनुभव भएको नेतृत्वले नेपाल–बेलायत उद्योग वाणिज्य संघको मिसनलाई नयाँ ऊर्जा प्रदान गर्ने र नेपाल–बेलायत व्यापार तथा लगानी साझेदारीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष डा. रोशन राठीले सदस्यहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै नेपाल र बेलायतबिचको व्यापार प्रवर्द्धन, बजार पहुँच, लगानी प्रोत्साहन तथा दुवै देशका निजी क्षेत्रबिच साझेदारी सुदृढ गर्ने प्रतिबद्धता जनाए।