कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ बन्साहका युवक धर्मेन्द्र राना व्यावसायिक कुखुरा व्यवसायमा जुटेका छन् । २६ वर्षीय राना १० वर्षअघि मलेसिया गएका थिए। रोजगारदाताले एक काम भनेर अर्को काममा लगाएपछि धोका पाएका राना एक वर्ष मात्रै काम गरेर स्वदेश फर्किए । मलेसियाको अन्डा उत्पादन कम्पनीमा उनका मामा चितराम राना काम गर्थे । एक दिन मामा भेट्न जाँदा उनले त्यहाँ आधुनिक प्रविधिबाट अन्डा उत्पादन गरेको देखेर अहिले स्वदेशमा अन्डा उत्पादनमा जुटेका छन् ।
रानाले कञ्चनपुर जिल्लामै आधुनिक (केजस्टक) प्रविधिबाट अन्डा उत्पादन गर्ने कुखुरा पालेका छन् । पाँच वर्षअघि ०७७ सालतिर परम्परागत रूपमा अन्डा उत्पादन गर्ने कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट कुखुरा पालेका हुन् । सुुरुवातमा एक हजार पाँच सय कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट चार हजार कुखुरा पालेका छन् । परम्परागत शैलीबाट कुखुरा पाल्दा नोक्सानी हुने भएपछि आधुनिक खोर निर्माण गरेर कुखुरा पालेका हुन् । अहिले उनको खोरमा चार हजार कुखुरा छन् ।
सामान्य परिवारका रानाले विदेशमा देखेको प्रविधिलाई स्वदेशमा प्रयोग गर्दै कुखुरा पाल्दै आएको बताए । सामान्य लेखपढ गरेका रानाले अर्काको काम गर्नुभन्दा आफ्नै मातृभूमिमा आत्मनिर्भर बन्न खोजेको बताए । घरको जमिन बन्धक राखेर झन्डै ३५–४० लाख लगानी गरेर कुखुरा पालन गरेको बताए । ६ महिनासम्म चल्ला पालेर १८ महिनासम्म दैनिक एक–एकवटाका दरले अन्डा दिँदै आएको बताए । उत्पादित स्वदेशी अन्डा स्थानीय बजारमा खपत भइरहेको उनको भनाइ छ । ‘मागअनुसार उत्पादन नहुँदा खपत गर्न सकेको छैन,’ उनले भने, ‘भारतबाट तस्करी भएर आउने अन्डाले हामी मारमा पर्दै आएका छौँ, तस्करी पनि रोक्न सरकारले पहलै गर्दैन, स्वदेशमा किसानले गर्ने पौरख पनि नबुझिदिने विडम्बना छ ।’ उनले प्रतिगोटा १२–१३ रुपैयाँ थोक मूल्यमा अन्डा बेच्दै आएका छन् । चार कट्टा जमिन क्षेत्रफलमा आधुनिक खोर निर्माण गरेका रानाले विनाअनुदान स्वदेशमै पौरख देखाएका छन् । देशका तीनै तहका सरकारबाट अर्बौँ अनुदान लिएर काम नगर्नेभन्दा धर्मेन्द्रले आफ्नै जमिन बैंक, सहकारीमा बन्धक राखेर ऋण निकालेका छन् ।
‘यो मेरो पूरै निजी लगानी हो, यसमा तीनै तहका सरकारको एक रुपैयाँ पनि लगानी छैन,’ उनले भने, ‘हामीजस्ता काम गरिखाने युवा किसानलाई कसले अनुदान दिन्छ ?’ सरकारले दिने सहुलियत ऋण र अनुदान नहुँदा थप लगानी गर्नबाट वञ्चित भएको रानाको गुनासो छ । भएको अचल सम्पत्ति धितोमा राखेको र बाँकी लगानी जुटाउन समस्या भएकाले सरकारले हेर्नुपर्ने उनको भनाइ छ ।