उद्योग संगठन मोरङले पूर्वअध्यक्ष वरिष्ठ उद्योगपति महेन्द्र गोल्छाको सम्झनासहित सम्मान गरेको छ। स्वर्गीय गोल्छाको १६औँ स्मृति दिवसमा मंगलबार संगठनको कार्यसमितिले सचिवालयमा स्थापित अर्धकदकाे सालिकमा माल्यार्पण गरी सम्झनासहित सम्मान व्यक्त गरेको हो। स्वर्गीय अध्यक्षको सम्झनामा संगठनले पोखरियास्थित मानवसेवा आश्रममा खाद्यान्न तथा भोजन वितरण पनि गरेको थियो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाले उद्योग/व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता तथा निजी क्षेत्रको सुदृढीकरणमा योगदान पुर्याएको स्मरण गराए। उनले पूर्वअध्यक्ष गोल्छाको संगठन मात्र नभएर नेपालको औद्याेगिक क्षेत्रमा महत्त्वपूर्ण योगदानको चर्चा गर्दै उनको मार्गदर्शन आगामी पुस्ताका लागि पनि प्रेरणाको स्राेत भएको बताए।
निवर्तमान अध्यक्ष राकेश सुरानाले स्व. गोल्छाले उद्योगी/व्यवसायीको सामूहिक हित र उद्योग क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखी कार्य गर्न गरेको भन्दै सम्झना गरे। गोल्छाको स्मृति दिवस कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन काबरा, सुबाेध कोइराला, कार्यसमिति सदस्य सन्तोष भगत, दीपक अग्रवाल, पारस गोल्छा, प्रतीक राउतलगायतको सहभागिता थियो ।