अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी लागुऔषध कार्टेलविरुद्धको आफ्नो अभूतपूर्व हमलालाई मेक्सिकोभित्र विस्तार गर्न सक्ने बताएका छन् ।
‘लागुऔषध रोक्न मेक्सिकोमा हमला गर्ने विषयमा मैले मेक्सिकोसँग कुरा गरिरहेको छु,’ ट्रम्पले सोमबार ओभल अफिसमा पत्रकार भेटघाटमा भने, ‘अमेरिकामा लागुऔषधका कारण लाखौँ मानिस मरिरहेका छन् । हामीले जलमार्गबाट हुने तस्करी रोकेका छौँ । हामीलाई तस्करीका सबै मार्गबारे थाहा छ ।’ तथापि, ट्रम्पले मेक्सिकाका कार्टेलमाथि हुने हमला कसरी र कहिले हुन सक्ने भन्नेबारे केही खुलाएनन् । छिमेकी मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनबाउमले भने कुनै पनि नाममा आफ्नो देशमा हुने आक्रमणको विरोध गर्ने बताइसकेकी छिन् । तर, ट्रम्पले यस्तो विरोधको सम्मान गर्नेमा भने विश्लेषकले शंका व्यक्त गरेका छन् ।
ह्वाइट हाउसले मेक्सिकोभित्रै सैन्य कारबाही गर्नेबारे प्रारम्भिक चरणको तयारी गरिरहेको समाचार एनबिसीले प्रसारण गरेको दुई हप्तापछि ट्रम्पको यस्तो टिप्पणी आएको हो । एनबिसीले दुई सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले गुप्तचर एजेन्सीसँग मिलेर संयुक्त सैन्य अप्रेसन सञ्चालन गर्ने तयारी रहेको समाचारमा भनेको थियो ।