कांग्रेसको इतरसमूह विशेष महाधिवेशनका लागि दबाबमूलक अभियानमा

नेता शेखरको सम्पर्क कार्यालयमा छलफल, पुसभित्र महाधिवेशन गर्नुको विकल्प नभएको निष्कर्ष

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी ठोस निर्णय लिन नसकिरहेका वेला संस्थापन इतरपक्षले दबाबमूलक अभियान थालेको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि इतरपक्ष विशेष महाधिवेशनका लागि दबाबमूलक अभियानमा लागेको हो ।

इतरपक्षका नेताहरूले डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार रणनीतिक छलफल गरेका छन् । पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार नभए विधानअनुसार विशेष महाधिवेशनमा जाने छलफलको निष्कर्ष छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सबै नेता पुसभित्र महाधिवेशनको पक्षमा रहेको छलफलमा सहभागी नेता गुरुराज घिमिरेले बताए । उनले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको अवमूल्यन गर्नुहुन्न भन्ने साझा निष्कर्ष रह्यो । पुसभित्र महाधिवेशन गर्नुको विकल्प छैन । त्यसका लागि दबाब बढाउँदै लैजान्छौँ ।’ विशेष महाधिवेशनमा जाऔँ भन्ने साझा निष्कर्ष रहेको उनले जानकारी दिए । ‘नियमित महाधिवेशन बहाना मात्रै हो । त्यो अब सम्भव छैन । पहिलेदेखि नै तयारी गरेको भए नियमित महाधिवेशन हुन्थ्यो,’ उनले भने । 

गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, विशेष महाधिवेशनको निवेदनमाथि छलफल नगराएको भन्दै हस्ताक्षर अभियान चलाएका नेताहरू असन्तुष्ट बनेका छन् । बालुवाटार छलफलमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग पछिल्लो समय आफ्नो भेट नभएको बताए । गत २८ कात्तिकमा सिंगापुरबाट फर्किएपछि देउवाले नेताहरूसँग ‘वन टु वन’ र सामूहिक छलफल गरिरहेका छन् । तर, आफूसँग छलफल नभएको थापाले बताएका हुन् ।

सभापति देउवा निरन्तर छलफलमै
अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायत इतरपक्षका नेताहरूसँग पनि देउवाले छलफल गरेका छन् । आफूनिकट नेताहरूसँग देउवा नियमित छलफलमा छन् । कोइरालाले भने सभापतिसँग आफ्नो भेट भएको र एक ढिक्का भएर महाधिवेशनमा जानुपर्ने मत राखेको बताए । ‘पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने पुसभित्र महाधिवेशन गराउनुस् भनेर सभापतिलाई भनेको छु,’ कोइरालाले भने । पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन वा विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय समिति तयार हुनुपर्ने धारणा आफूले राखेको उनले बताए । 

विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापतिलाई ध्यानाकर्षणपत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेर्नेसम्मका कार्यक्रम गर्ने तयारी गरेका छन् । गत २८ असोजमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले हालसम्म निर्णय लिन सकेको छैन । गत बिहीबार धारणा राख्ने क्रम सकिएपछि बैठक स्थगित हुँदै आएको छ । आगामी ४ मंसिरमा बैठक बोलाइएको छ । त्यसअघि सहमति खोज्ने प्रयास भए पनि हालसम्म निष्कर्ष निस्केको छैन । संयुक्त रूपमा केन्द्रीय कार्यसमिति बैठकमा दबाब दिने निष्कर्ष इतरपक्षले निकालेको छ ।

महामन्त्री गगन थापा भन्छन्– हामी न झुक्छौँ,न झुक्किन्छौँ 
कांग्रेस महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफूहरू कसैसँग नझुक्ने बताएका छन् । मंगलबार भिडियो सन्देश जारी गर्दै थापाले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने दाबीसमेत गरे । ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो । नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ । पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ । हामी न झुक्छौँ, न झुक्किन्छौँ,’ थापाले भनेका छन् ।

सुझावित समाचार