कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित महत्वपूर्ण पर्यटकीय स्थल बुड्डी तालको विकास निर्माणमा निरन्तर ढिलाई भएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै कडा कारबाहीको चेतावनी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा डिपिआर तयार गरी दुई करोड ८० लाख रुपैयाँको लागतमा प्रतिष्ठा रमिता जय अम्बे जेभीसँग सम्झौता भएको यो परियोजना पाँच पटक म्याद थपिँदासमेत अधुरै रहेको छ । यस विषयमा नगरपालिकाले ठेकेदार, सरोकारवाला तथा स्थानीय प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै काम तुरुन्त अघि बढाउन निर्देशन दिएको बताएको छ ।
उक्त छलफलमा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले ठेकेदारको निरन्तर लापरवाहीका कारण स्थानीयमा गम्भीर असन्तुष्टि पैदा भएको बताए। ‘वर्षौसम्म बहानामात्र देखाएर काम नगर्दा नगरपालिकाको छवि नै प्रभावित भएको बताउदै अब कुनै हालतमा ढिलाइ स्वीकार्य नहुने र एक महिनाभित्र काम नसकिए कम्पनीलाई कालोसूचीमा राखिने क्षेष्ठले बताए ।
नगर प्रमुख श्रेष्ठले बुड्डी ताललाई नगरपालिकाले गेम चेञ्जर प्रोजेक्टका रूपमा लिएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा ठूलो लाभ हुने विश्वास व्यक्त गरेका छन् ।‘सबैको साथ र सहकार्यबाट मात्र नगर समृद्ध बन्ने बताउदै ठेकेदार पक्षका प्रतिनिधि प्रकाश खनाललाई एक महिनाभित्र काम सक्न नगरपालिकाले सशक्त निर्देशन दिएको छ । तोकिएको समयभित्र काम सम्पन्न नभए ठेक्का रद्द गर्ने, भुक्तानी रोक्ने र कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको बताएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराईले पाँचौं पटक म्याद थप्दा पनि काम अगाडि नबढेको भन्दै ‘अब कुनै बहाना चल्दैन काम अवरुद्ध हुन् एक महिनाभित्र काम भएन भने ठेक्का रद्द र कम्पनी कालोसूचीमा पर्छ’ ,भट्टराईले भने ।