प्रियांकको अर्धसतकमा कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

भारतीय अनुभवी ब्याटर प्रियांक पञ्चालले आफ्नो पहिलो खेलमै अर्धसतक बनाएपछि दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको हो । 

पहिलोपटक एनपिएल खेलिरहेका भारतीय ३५ वर्षीय ओपनरले पहिलो खेलमै सर्वाधिक ९० रन बनाए । रवि बोपराको बलमा देव खनालबाट क्याचआउट हुनुअघि उनले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा सात चौका र ६ छक्का हिर्काएका हुन् ।  यसअघि उनले २८ बलमा चार चौका र तीन छक्कासहित अर्धसतक बनाएका थिए । उनले अर्धसतक बनाउँदा कर्णाली १० ओभरमा एक विकेट गुमाएर ७२ रन बनाउन सफल भएको थियो । दायाँहाते ब्याटरले गुजरातका लागि रणजी ट्रफी खेल्दै आएका छन् । 

पवन सर्राफले १६ बलमा एक चौका र तीन छक्कासहित अविजित २७ रनको योगदान गरे । नाजिमुल्लाह जाद्रन पनि चार रनमा अविजित रहे । अर्का ओपनर म्याक्स ओ डाउडले कर्णाली याक्सका लागि ३० बलमा एक चौकासहित २० रन बनाएका हुन् । नेदरल्यान्ड्सका स्टार खेलाडी डाउडलाई इंग्ल्यान्ड खेलाडी सइफ जइवले बोल्ड गराएका थिए । 

तेस्रो नम्बरमा आएका स्कटल्यान्डका मार्क वाटले २० बलमा १६ रन बनाए । एक चौका हिर्काएका उनलाई सोहेल तनवीरले रिजन ढकालबाट क्याच गराएका हुन् । उनी आउट हुँदा कर्णालीले १८.२ ओभरमा तीन विकेट गुमाएर १४० रन बनाएको थियो ।चितवनका लागि जइव, सोहेल तनवीर र रविले समान एक विकेट हात पारेका थिए । तनवीरले चार ओभरमा २६ रन खर्चिए । चार ओभर बलिङ गरेका कमलसिंह ऐरीसँगै समान तीन ओभर बलिङ गरेका  रिजन ढकाल र कुशल मल्ल भने विकेटविहीन भए  

आज नै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दै छन् । प्रतियोगिता २७ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
 

सुझावित समाचार